मैले भनेको सरकार–दलहरुले सुनेनन् : राष्ट्रपति
काठमाडौं, २९ असोज । राष्ट्रपति डा. रामवरण यादवले घरभित्रको समस्या आफैं समाधान गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघको ७औं विश्व सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति यादवले आफ्नो समस्या आफैं समाधान गर्न संसद, दलहरु र सरकारलाई आग्रह गरे । उनले संविधान कार्यान्वयन गर्न निकै अप्ठेरो रहेको भन्दै सबैको आवाज सुनेर अगाडि बढ्न सुझाव दिए । आफूले सबैका आवाज सुनेर अगाडि बढ्न संविधानसभा, सरकार र दलहरुलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले दुःखेसो पनि व्यक्त गरे ।
राष्ट्रपति डा. यादवले आफूले राष्ट्रिय पोशाकमार्फत् जोड्ने काम गरेको र आगामी दिनमा पनि गरिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको संविधान उत्कृष्ट रहेको भन्दै अब सबैको एक मात्र एजेन्डा आर्थिक विकास हुनुपर्ने बताए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक रामप्रताप थापा, अध्यक्ष शेष घले, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकालगायतले गैरआवासीय नेपालीले स्वदेशमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । सम्मेलन शनिबारसम्म चल्ने छ ।