एमालेमा मन्त्री बन्न हानाथाप
काठमाडौ, २ कात्तिक । एमालेमा मन्त्रि बन्न हानाथाप भएकै कारण हिजो विस्तार भएको मन्त्रिपरिषदमा एमालेको सहभागिता हुन् सकेन । एमालेले मन्त्री चयनका विषयमा छलफल जारी राखे पनि मापदण्डका विषयमा कुरा नमिल्दा मन्त्री चयन हुन नसकेको हो । नेकपा एमालेले पाएको ९ मन्त्रीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मापदण्डका विषयमा कुरा नमिल्दा ढिला भएको स्रोतले बताएको छ ।
यसअघि मन्त्री बनाइनु भएका अग्नि खरेलका विषयमा समेत पार्टीमा विवाद देखिएको छ । सरकारमा ओलीपछिको नेतृत्वमा उपाध्यक्ष भीम रावल वा उपमहाचिव विष्णु पौडेल कसलाई पठाउने भन्नेमा पनि कुरा मिलेको छैन ।
एमाले नेता कृष्ण गोपाल श्रेष्ठले भने प्रधानमन्त्रीले आफुलाई सहज हुने गरी मन्त्री छान्न लागेकाले ढिला भएको बताए । उनले अब दशैपछि मन्त्रिपरिषद विस्तार गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको पनि बताउनभयो । नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, मजदुर किसान पार्टीलाई पनि सरकारका सहभागि गराउन खोजिएको श्रेष्ठले बताए ।