राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना
काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति डा. रामवरण यादवले बडादसैं २०७२ का अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गरेका छन । आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले मुलुकको राजनीति अवश्थाका बारेमा पनि चर्चा गर्दै – विनाशकारी भूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको केही भूभाग, विशेषतः तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उनले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपतिले सन्देशमा नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छन् ।उनले प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने उल्लेख समेत गरेका छन् ।
यसैगरी उपराष्ट्रपति परमानन्द झाले बडादसैं २०७२ का अवसरमा शुभकामना सन्देश दिदै दशैंले नेपाली नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताएका छन । उनले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमती, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैं २०७२ का अवसरमा शुभकामना सन्देश दिदै नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृति मुलुक भएकाले आफ्नो परम्परालाई निरन्तरता दिएर देशलाई एकतावद्ध र अखण्ड राख्न सबै लाग्नुपर्नेमा जोड दिएका छन । उनले संविधानले झण्डै ७ दशकदेखिको नागरिकको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताएका छन । अब संबिधानको प्रभावकारी कार्यान्वयनसँगै नागरिकले पाएका हक–अधिकार व्यबहारमै लागु हुँदै जाने सुनिश्चित रहेको पनि उनले बताएका छन । इन्धनलगायतका आपूर्ति व्यबस्था असहज हुँदा चाडपर्वमा समेत नागरिकले सास्ती बेहोर्नुपरेको तर्फ सरकार गम्भीर रहेको र आपूर्ति व्यबस्थालाई सहज बनाउन पहल थालिसकेको समेत उनको वक्तव्यमा उल्लेख छ ।