राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया भोलिबाट

२०७२ कार्तिक ६ गते, शुक्रबार

काठमाडौं, ६ कार्तिक । व्यवस्थापिका संसद अधिवेशन आह्वान भएको ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्नुपर्ने व्यवस्था भएकाले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनको प्रक्रिया भोलीबाट सुरु हुने भएको संसद सचिवालय जनाएको छ । संसदको बैठक भोलि बस्ने भएकाले भोलिदेखि नै राष्ट्रपति चयनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपति निर्वाचनको लागि भोलि कार्यतालिका प्रकाशित गर्ने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार सुरुमा सहमतिको आधारमा राष्ट्रपति चयनको लागि दलहरुलाई समय दिइने र नभएमा चुनावी प्रक्रिया सुरु हुनेछ । दसैं सकिए लगत्तै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्ने भएकाले दलहरु पनि आवश्यक गृहकार्यमा जुटेका छन् । तर राष्ट्रपतिको उम्मेदवारबारे अझै यकिन भैसकेको छैन ।
यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन् ।
तर कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ । नयाँ संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन भने भैसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]