राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न प्रक्रिया थालिँदै
काठमाडौं,७ कार्तिक । आज दिउसो ३ बजे बस्ने व्यवस्थापिका संसदको बैठकले मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न प्रक्रिया थाल्दैछ । संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा साझा उम्मेदवार पेस गर्न समय दिने व्यवस्था रहेको छ । बैठकले गठन गरेको निर्वाचन समितिले निर्वाचन कार्यतालिका पेश गर्ने छ । बैठकबाट सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन गर्ने प्राबधान रहेको छ ।
आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ । “सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ,”– निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताए ।
राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गते समय समेत पाउन सक्ने सम्भावनालाई छ । ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ ।