मन्त्री बन्न एमालेमा भाले भिडन्त
काठमाडौ, १६ कात्तिक । नेकपा एमालेभित्र मन्त्री बन्न भाले भिडन्त सुरु भएको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पार्टी अन्य नेताबीच मन्त्री चयनका विषयमा चर्काचर्की भएपछि हिजो हुने भनिएको मन्त्रिपरिषद् विस्तार स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले शनिबार पार्टीका शीर्ष नेतासँग अनौपचारिक छलफल गरी आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर मन्त्री बनाउने प्रक्रियाका विषय र मन्त्रालय भागबन्डामा समेत पार्टीमा छलफल नगरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले असन्तुष्टि प्रकट गरेपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा नेताहरूले पार्टीमा छलफल र निर्णय गरेरमात्र मन्त्री बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। महासचिव ईश्वर पोखरेलले मन्त्री चयनको मापदण्ड बनाउनुपर्ने र त्यसअनुसार प्रधानमन्त्रीलाई जिम्मा दिनुपर्ने प्रस्ताव गरेका थिए।
प्रस्तावप्रति असहमति जनाउँदै नेपाल र खनाल बालुवाटारबाट बाहिरिएका थिए। छलफलमा उपाध्यक्ष भीम रावलले त पार्टीमा निर्णय नगरी खल्तीबाट ल्याइएको मन्त्री आफू नहुने चेतावनी दिएको बताइन्छ । स्थायी कमिटीको बैठकमा निर्णय गरेरमात्र मन्त्री बनाउन दबाब परेपछि मन्त्रिपरिषद् विस्तारको टुंगो लागेको छैन। एमाले नेताहरूले राम्रा मन्त्रालय सबै एमाओवादीलाई दिएको भन्दै पहिलादेखि नै गुनासो गर्दै आएका थिए। उनीहरूले स्थानीय विकास मन्त्रालय पनि राप्रपा नेपाललाई दिन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।