तराई मधेसको समस्या छिटो समाधान गर्न आग्रह
काठमाडौं,२१ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई , दमनाथ ढुंगाना, पद्म रत्न तुलाधर, विद्याधर मल्लिक, स्टेला तामाङसहितका अधिकारकर्मीहरुले तराई मधेसको समस्या छिटो समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले आज बिहान प्रधानमन्त्री ओलीलाई भेटेर तराईमा चलिरहेको आन्दोलनले नागरिक मर्कामा परेको भन्दै छिटो समाधान खोज्न आग्रह गरेका हुन् । टोलीले संविधानसभाबाट संविधान जारी भएपनि मधेसी, जनजाति तथा सीमान्तकृत नागरिकका अधिकार सुनिश्चि नभएको भन्दै उनीहरुका माग सम्बोधन गर्न आग्रहसहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको छ । यस्तै सीमा क्षेत्रमा भैरहेको अवारोध र भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन कष्टकर भएको र यसले दुई देशको सम्बन्धमा पनि नकारात्मक असर परेको भन्दै कुटनीतिक छलफलबाट समस्या समाधान गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ ।