गएराती सप्तरीमा झडप, डेढ दर्जन घाइते

२०७२ कार्तिक २३ गते, सोमबार

काठमाडौं, २३ कात्तिक । गएराति ११ बजे सप्तरीको पूर्व–पश्चिम राजमार्गमा सबारी साधन रोकेर धर्नामा बसेका मधेसी मोर्चाका नेता–कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । भारदह र रुपनीमा प्रहरीले बल प्रयोग गरेर धर्नामा बसेकाहरुलाई हटाउन खोजेपछि दोहोरो झडप भएको हो । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा डेढ दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
प्रहरीले दुई दर्जन आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएको छ । राजमार्गमा रोकिएका गाडीहरु एस्कर्टिङ्ग गराउने क्रममा प्रहरीले भारदहबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखर कुमार सिंह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास कुमार तिवारीलगायतका नेताहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले भारदहको राजमार्गमा आन्दोलनकारी बस्न टाँगिएको पाल समेत भत्काएको छ । उता, रुपनीमा भएको झडपमा मोर्चाका युवा नेता केदार यादव र अशोलाल यादवसहित एक दर्जन आन्दोलनकारी घाइते भएका छन् । लाठी चार्जबाट अशोलाल यादवको टाउकोमा गम्भीर चोट लागेको छ । उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गएरातीबाट प्रहरीले अबरुद्ध राजमार्ग खुलाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]