प्रधानमन्त्रीले देशवासीका नाममा गर्ने भनिएको सम्बोधन स्थगित
काठमाडौ २४ कार्तिक । भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गर्ने भनिएको सम्बोधन आज नहुने भएको छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछिको संकटपूर्ण अवस्था र आफूले गर्न लागेका प्रमुख कामहरुको बारेमा प्रधानमन्त्री ओलीले आज सम्बोधन मार्फत जानकारी गराउने कार्यक्रम थियो । समय अभाव र तयारी अपुग भएका कारण प्रधानमन्त्रीको सम्बोधन अब तिहारपछि मात्र हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
प्रधानमन्त्रीले मुलुकको पछिल्लो राजनितिक परिस्थिति, वर्तमान संकटको समाधान र भूकम्प पीडित जनताको पक्षमा विशेष घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । जनताले संकटको बेला राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संयम र धैर्यलाई सरकारले उच्च सम्मान गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।