आजदेखि नेपाल संवत ११३६ सुरु

२०७२ कार्तिक २६ गते, बिहीबार

काटमाडौं, २६ कात्तिक । आजदेखि नेपाल संवत ११३६ सुरु भएको छ । नेवार समुदायले नेपाल संवतलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इश्वी संम्वत ८८० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो ।
नेपाल संवतले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवतको मान्यता पाएको संस्कृतिविद सत्यमोहन जोशीले जानकारी दिनुभयो । विक्रम संवत १९६० देखि भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो ।
राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कामको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यसैबीच, आज नेवार समुदाय मानिसको शरीर नै देवता हो भन्ने मान्यताका साथ म्हपूजा मनाउदै छन । काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले आज म्ह पुजा गर्दैछन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ ।
आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । आगलागीबाट बचेको खुसियालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन सुरु गरेको पनि इतिहासकारले बताएका छन् ।
घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । म्ह पूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदाया ठूलो पर्वको रूपमा लिने गरिन्छ । नेवारी भाषामा म्ह को अर्थ शरीर हो । तर म्ह पूजा अनिवार्य रूपमा गर्ने पर्ने भन्ने छैन ।

प्रतिक्रियाहरु

[anycomment]