इन्धन सम्झौत गर्न सरकारी टोली चीन जाँदै

२०७२ मंसिर ४ गते, शुक्रबार

काठमाडौ, ४ मंसिर । सरकारले पेट्रो चाइनासँग इन्धनको व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय प्रतिनिधिमण्डल चीन पठाउँदैछ । वन मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा नेपाल आयल निगमसहितको उच्चस्तरीय टोली त्यसतर्फ जान लागेको हो । टोलीमा परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने छन् । टोलीले पेट्रो चाइनासँग इन्धन आयातको व्यापारिक सम्झौता गर्नेछ । भारतले अघोषितरुपमा नाकाबन्दी गरेपछि विकल्प खोज्ने उद्देश्यका साथ टोली चीन जान लागेको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले केही दिन पहिले गर्नुभएको चीनको अनौपचारिक भ्रमणको क्रममा इन्धन आयातको विषयमा गम्भीर छलफल भएको थियो । इन्धन आयातको सबै विकल्प खोज्ने क्रममा सरकारले चीनबाट इन्धन ल्याउन लागेको हो । यसअघि चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा नेपाललाई उपलब्ध गराएको र सो परिमाणको पेट्रोल नेपाल भित्रिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]