सप्तरीमा गोली चल्यो , दुईजनाको मृत्यु

२०७२ मंसिर ६ गते, आईतवार

काठमाडौ, ६ मंसिर । गएराति मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह र रुपनीमा राजमार्ग अबरुद्ध गर्न बसेका मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा गोली लागेर भारदह र रुपनीमा एक–एक जनाको मृत्यु भएको हो ।
भारदहमा गोली लागेर स्थानिय बीरेन्द्र राम र रुपनीमा नागेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । भारदह र रुपनीमा गरी अन्य २५ जना प्रदर्शनकारी घाइते भएका छन् ।
घाइते मध्ये पांच जनाको अवस्था चिन्ताजनक छ । यसैबीच, स्थानीय प्रशासनले बिहान ६ बजेदेखि सप्तरीको तीन स्थानमा कफ्र्यू आदेश जारी गरेको छ ।
प्रशासनले भारदह र रुपनीको पाँचसय मिटर आसपास र सरकारी कार्यालयहरु रहेको राजबिराजको अदालत रोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको हो ।
यात्रुबाहक बसको एस्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीहरु प्रहरीमाथि नै जाइलागेपछि गोली चलाएको प्रहरीले जनाएको छ । उता, प्रशासनले कफ्र्यू जारी गरेपनि मोर्चाका कार्यकर्ताहरुको ठाउं ठाउंमा प्रदर्शन जारी नै छ ।
अहिले सप्तरी सदरमुकाममा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । उता, सप्तरीमा मोर्चाले आन्दोलन चर्काएपछि सो बाटो हुंदै पूर्व जाने सबै गाडीहरु अहिले रौतहटको चन्द्रनिगाहपुरमा रोकिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]