भारतीय राजदूतलाई देश निकाला गर्न माग
काठमाडौं, ९ मंसिर । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद यज्ञराज सुनुवारले ‘भारतीय राजदूत रणजीत रायले तराई–मधेस आन्दोलनको प्रवक्ता जस्तो बनेर बोल्दै हिँडेको भन्दै उनलाई देश निकाला गर्नुपर्ने’ माग गरेका छन । यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय नाकाबन्दीकाविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान ढिला गरिएको भन्दै असन्तुष्टी जनाए ।
यस्तै, कांग्रेस सांसद पूर्णबहादुर खड्काले दक्षिणले मुठी कसेको र उत्तरले मुठी खोल्न आनाकानी गरेको अवस्थामा सबै गम्भीर हुनुपर्ने धारणा राखे । तमलोपाका सांसद बृजेशकुमार गुप्ताले देशको आन्तरिक समस्यामा भारतलाई आरोप लगाउन नमिल्ने बताए ।
यसैबीच , व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिले कालोबजारी रोक्न सरकरालाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले नाकाबन्दीको बहानामा पेट्रोलियम पदार्थमा कालोबजारी भएको र अन्य सामग्रीको पनि मूल्य अस्वभाविकरुपमा बढेकोले त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएको हो । तराई–मधेसमा चलिरहेको आन्दोलमा पूर्वसतर्कता अपनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको तथा वार्ताबाट समाधान खोज्न आन्दोलनकारीलाई आग्रह गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिए । सुनसरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई गोली हानेकोमा गम्भीर ध्यानकर्षण भएको पनि समितिले जनाएको छ । समितिको बैठकमा बोल्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले वार्ता चलिरहेको बेलामा राजमार्ग अवरुद्ध गर्ने काम स्वीकार्य नहुने भन्दै त्यस्तो अवस्थामा मात्रै बल प्रयोग गरिएको बताए । मुलुकको अखन्डता र संविधानमाथि प्रश्न उठाउँदा अहिलेको जटिल र असहज अवस्था आएको उनको भनाइ थियो ।
बैठकमा सांसदहरुले भारतीय नाकाबन्दीकोविरुद्ध चर्को आवाज उठाए भने मधेसी सांसदहरुले त्यसको विरोध गरेका थिए ।