नाकाबन्दीको विरोधमा मानव साङ्लो प्रदर्शन गरिदै
काठमाडौं, ११ मंसिर । भारतको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलन कारण देशको अवस्था अस्तव्यस्त भएपछि त्यसको विरोधमा आज राजधानीमा विशाल मानव सांग्लोे प्रदर्शन गरिदैछ । बन्दका कारण बालबालिकामा परेको असरलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने उद्देश्यले आज बालबालिकाहरु हातमा प्लेकार्ड बोकी चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गर्ने भएका छन् । ‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका साथ आज बिहान ११ बजे कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार गर्ने छन् ।
साङ्लो प्रदर्शनमा सहभागी हुँदा राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्लेकार्ड, ब्यानर हुने बताइएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था विरोध प्रदर्शनमा उत्रिएका छन । विरोध सांग्लोमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले समेत सहभागिता जनाउदै छन ।