सत्तारुढ दल, प्रतिपक्ष र आन्दोलनरत मोर्चाबिच वार्ता हुँदै
काठमाडौं,१६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सत्तारुढ दल, प्रमुख प्रतिपक्ष कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबिच वार्ता हुने भएको छ । प्रधानमन्त्रीओलीको आह्वानमा गतसोमबार भएको बैठकले सीमांकनमा केन्द्रित रहेर वार्ता गर्ने निर्णय भए अनुसार मुख्य दलहरुबिच आज छलफल हुन लागेको हो । तर निर्णायक हुने भनिएको आजको वार्तामा मोर्चाका शीर्ष नेता भने सहभागी नहुने भएका छन् । उनीहरु तराईका विभिन्न ठाउँमा हुने आमसभामा व्यस्त हुँदैछन् ।
‘लहान र ढल्केबरमा आज आमसभाम हुने कार्यक्रम छ, आमसभा सकेर काठमाडौं आउन सक्ने सम्भावना देखिँदैन’ मोर्चाको एकघटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले उज्यालो अनलाइनसँग भन्नुभयो । तर मोर्चाका दोस्रो तहका नेता भने वार्तामा सहभागी हुने उहाँले बताउनुभयो ।
संविधानमा असहमति जनाउँदै मधेसी मोर्चाले थालेको आन्दोलनका कारण देशभरको जनजीवन अस्तव्यस्त भइसक्यो । सीमा नाकामा भएको धर्नालाई बहाना बनाउँदै भारतले नाकाबन्दी गरेपछि त झन् सास्ती र संकट थपिएको छ ।
यस्तो बेला सरकार र मुख्य दलहरुले छिटो समस्या समाधान गरुन् र अवस्था सहज बनाउन् भन्ने आमनागरिकको चाहना हो । तर दलहरुको छलफलले अहिलेसम्म निकास निकाल्न सकेको छैन । बुधबारको वार्ताले केही उपलब्धी होला कि भनेर आशा गरेका नागरिकलाई मोर्चाका शीर्ष नेताले फेरि निराश बनाउने काम गरेका छन् ।
वार्तालाई परिणाममुखी बनाउन तीन दलले मंगलबार दिनभर आन्तरिक छलफल गरेपनि मोर्चाका नेताहरुले कुनै तयारी गरेका छैनन् । सँगै बसेर कुराकानी गर्नुपर्ने बेला वार्ता छाडेर आमसभामा सहभागी हुनुले उनीहरु वार्ताप्रति गम्भीर नभएका हुन् कि भन्ने नागरिकलाई आशंका पैदा गरेको छ ।
बुधबारको वार्तालाई परिणाममुखी बनाउने प्रयासस्वरुप मंगलबार तीन दलको आन्तरिक बैठक बसेको थियो । नेपाली कांग्रेसको पदाधिकारी बैठकले मधेस आन्दोलनलाई समाधान गर्न वार्ता र छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
कांग्रेसले सरकारका तर्फबाट समस्या समाधानका लागि पर्याप्त पहल नभएकाले आफ्नै अग्रसरतामा पहललाई थप सशक्त बनाउने निर्णय गरेको हो । यस्तै एमाले शीर्ष नेताको बैठकले मधेसी मोर्चाका माग पुरा गर्न लचिलो हुने निर्णय गरेको छ ।
तर देशको सार्वभौमिकता नै खतरामा पर्नेगरी भने लचिलो हुन नहुने एमाले नेताको जोड । मंगलबार सुरु भएको एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठकमा पार्टीले सरकार र मधेसी मोर्चा दुवैलाई जिम्मेवार बनाउन पहल गर्नुपर्नेमा नेताले जोड दिएका छन् ।
पार्टी अध्यक्ष प्रचण्डले विवाद मिलाउन आठ प्रदेशको विकल्प समेत प्रस्तुत गर्नुभएको छ । बुधबार बेलुकी वार्ता हुनुअघि मुख्य तीन दलत्रिच छलफल हुने कार्यक्रम छ ।