अख्तियारको गतिविधि संकास्पद : एमाले र एमाओवादी
काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो गतिविधिप्रति सत्तारुढ दल एमाले र एमाओवादीले गम्भीर आशंका गरेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्ता साझेदार दल एनेकपा माओवादीले अख्तियारको पछिल्लो कदमप्रति गम्भीर आशंका जनाएका हुन् ।
कान्तिपुर दैनिकका अनुसार सत्तारुढ एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना केही नेतालाई समेत बयानका लागि बोलाएकोमा ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति गम्भीर आशंका व्यक्त गरेको छ ।
चितवनमा दुई दिनसम्म चलेको विशेष राष्ट्रिय भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘सिंगो मुलुक राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिरहेको र पार्टीले यस अभियानको अगुवाई गरिरहेको विशेष परिस्थितीमा अगाडि बढाइएको यो विषयले गम्भीर आशंका पैदा गरेको छ ।
पार्टी सँधै सुशासन, सदाचार र पारदर्शी जीवनशैलीको पक्षमा रहँदै आएको भन्दै एमालेले राज्यका कुनै पनि निकायद्वारा कानुनसम्मत ढंगले गरिने अनुसन्धानलाई सघाउन भने तयार रहेको बताएको छ । ‘तर पूर्वाग्रही ढंगले र प्रतिशोध साध्ने हिसाबले गरिने कुनै पनि गतिविधि भने अनुचित हुने कुराप्रति सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ,’ भेलाद्वारा पारित प्रस्तावको १५ औं बुँदालाई उद्धृत गर्दै कान्तिपुर दैनिकले लेखेको छ ।
यता अर्को सत्तारुढ दल एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा अडान राखेकै आधारमा पार्टीलाई नै सिध्याउने ढंगले महासचिव कृष्णबहादुर महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा पत्र काटेको भन्दै आपत्ति जनाएको पनि सो दैनिकले जनाएको छ ।
बुधबार प्रकाशित समाचारमा भनिएको छ, ‘उनीहरुले आयोगले जानी–बुझी पत्र काटेको बताए । लामो समय भइसक्दा समेत पार्टीले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक नगरेकोमा उनीहरुले नेतृत्वप्रति असन्तुष्टिसमेत जनाए । अख्तियारको पत्रबारे पार्टीको धारणा सार्वजनिक हुनुपर्ने उनीहरुको माग थियो ।’
बैठकमा मंगलबार प्रवक्ता दीनानाथ शर्मा, विश्वनाथ साह, विषमलाल अधिकारी, हितबहादुर तामाङ, कमला रोका, प्रकाश पोखरेल, समिता कार्की, विमला सुवेदी, चित्रबहादुर श्रेष्ठ, श्रीप्रसाद जवेगु, वसन्तकुमार शर्मा लगायतले बोलेका थिए ।