भारतले नेपाललाई भेन्टिलेटरमा पुरायो

२०७२ मंसिर २५ गते, शुक्रबार

काठमाडौं, २५ मंसिर । तिब्र गतिका लागि परिचित बजाज कम्पनीको पल्सर बाइकको स्लोगन नै छ–फेयर द ब्ल्याक । नेपालमाथि लगाइएको नाकाबन्दीका क्रममा सुनौली बोर्डरसँग जोडिएका भारतीय गाउँमा यो बाइक कालोबजारीका लागि सबैभन्दा उत्तम माध्यम बनेको छ। किनभने यसको ट्याङ्की १५ लिटर इन्धन क्षमताको छ ।
बेरोजगार युवा र विद्यार्थी यो बाइक दैनिक ३०० रुपैयाँमा भाडामा लिन्छन् र भारतीय पेट्रोल पम्पमा ७० रुपैयाँ प्रतिलिटरको दरले ट्याङ्की भर्छन् । र, नेपालभित्र पुराएर १२५ देखि १३० सम्म प्रतिलिटरका दरले तेल विक्री गर्दछन् ।
यो क्रम जस्ले जतिपटक दोहोराउन सक्छ, उसको साँझ रंगिन हुने गर्दछ । अन्य मोटरसाइकल पनि पेट्रोलको कालोबजारीमा संलग्न छन् तर ट्याङ्की सानो भएकाले आम्दानी भने कम छ।
तिब्र गतिमा बाइक कुदाउँने यी युवाहरु एक महिनादेखि प्रदुषण मास्क लगाउन थालेका छन्, यो खेतमा उड्ने धुलोबाट बच्ने भने होइन, बरु प्रहरी र पेट्रोल पम्पका कर्मीहरुलाई छक्याउनका लागि हो । किनभने बढी पटक दोहोराउँदा प्रहरीले किचकिच गर्ने गर्दछ, पम्प संचालकले पनि इन्धन दिन अस्वीकार गर्न सक्दछन् ।
यतिबेला ट्राभल एजेन्सीहरु झिँगा मारिरहेका छन् तर ट्याक्सीहरुमा डिजल भरेर चालकहरु मनग्ये कमाई गरिरहेका छन् ।
नाकाबन्दीमा कयौ युवा लगानीकर्ता उत्पन्न भएका छन् । जसको किस्सा पेट्रोल पम्पहरुमा सुन्न पाइन्छ । सुनौदेखि २५ किलोमिटर टाढा एउटा सानो चेकपोष्टसँग जोडिएको गाउँ ठुंठीबारीका एक बेरोजगार युवकले १५ हजारमा सेकेन्ड ह्याण्ड बाइक किनेका थिए । उनले त्यो रकम तिरेर पनि अहिले प्रशस्त कमाइ गरिरहेका छन् ।
सीमासँग जोडिएको बरगदवा क्षेत्रबाट दुई दिनअघि डिजल लिएर गएका युवक सन्दीपलाई नेपालको नवलपरासी जिल्लामा मधेसी आन्दोलनकारीहरुले गोली प्रहार गरेका थिए । तर, यो कुरा बताउन पल्सरवालाहरु बच्ने गर्दछन् । उनीहरुका लागि यो घटना अपवाद हो, जो कालोबजारी होइन, आपसी झगडाका कारण भएको थियो ।
जसले बाइक जुटाउन सक्दैनन्, उनीहरु पनि साइकलमा डिजेलका ग्यालिन नेपाल प्रवेश गराइरहेका छन् । यहाँसम्म कि गरिब महिला र युवतीहरु पनि उधारोमा पाँच÷सात लिटर डिजल किनेर केही रकम कमाइरहेका छन् ।
नौतनवा बाइपासमा सशस्त्र सुरक्षा बल (एसएसबी) को कमाण्डेट अफिस नजिकै पेट्रोल पम्पमै एक जना चाट पसलेले ठेला लगाएका छन् ।
केही दिनअघिसम्म यो ठेला नजिकैको विद्यालयको गेटमा लाग्ने गरेको थियो । ठेला लगाउने व्यक्ति भन्छन्–जहाँ युवा त्यहाँ ठेला । यसअघि जोसँग दश रुपैयाँ थिएन, अहिले उनीहरु दैनिक हजार पन्ध्र सय कमाइरहेका छन् ।
यो पम्पमा ग्यालिनको लामो लाइन थियो । महिलाहरु चाँडै तेल दिनका लागि कर्मचारीसँग कुरा गरिरहेका थिए । ताकि अँधेरो हुनुअघि नै खेतको बाटो हुँदै दशगजा (नो म्यान्स ल्याण्ड) पार गर्न सकियोस् र व्यापार गरेर फर्कन सकियोस् ।
बोर्डरसँग जोडिएका क्षेत्रमा खाना पकाउने ग्यासको रिफिलिङ गर्ने क्रम पनि त्यत्तिकै छ। एक सिलिण्डर ब्ल्याकमा ७२० रुपैयाँको छ । सीमा पार पुराउने बित्तिकै बेलहियामा त्यसको मूल्य १५०० भारु हुने गर्दछ । जुन भैरहवा र काठमाडौ २५ सयदेखि ३ हजार भारुमा बिक्ने गर्दछ ।
सुनौलीका पसलेहरु रोइरहेका छन् । किनभने कालोबजारी चम्केपछि उनीहरुको पसलमा काम गर्नेहरु काम छाडेर भागेका छन् ।
बोर्डर नजिकका क्षेत्रमा रिक्सा चलाउनहरु देखिएका छैनन् । गहुँ काट्ने बेलामा मजदुर पाइन छाडेको छ। सीमा क्षेत्रमा गाउँ र क्षेत्रका मानिसका लागि नाकाबन्दी बरदानसरहकै कमाइ गर्ने अवसर बनेर आएको छ।
उनीहरु चाहन्छन्, यो सिलसिला लामो समय चलोस् । यहाँ पुरानो भनाइ छ, पढ्नु न लेख्नु, बोर्डरमा बस्नु । अर्थात यदि पढाई लेखाई नभए पनि सीमा क्षेत्रमा घर होस् तब रोजगारी र आम्दानीका विषयमा चिन्ता गर्नै पर्दैन ।
फरेन्दास्थित एउटा निजी नर्सिङहोम अगाडि उभिएका एक जना देहातीले भने–नेपाललाई भारतले भेन्टिलेटरमा राखिदिएको छ। यस्ता रोगीका परिवारजन चिकित्सकलाई धमाधम पैसा दिन्छन् । नेपालले पनि यस क्षेत्रका मानिसलाई दिइरहेको छ। – अनिल यादव, बरिष्ठ पत्रकार, बीबीसी हिन्दी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु