भारत दशगजामा अबैध रुपमा बाँध निर्माण गर्दै

२०७२ मंसिर २५ गते, शुक्रबार

काठमाडौं, २५ मंसिर । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ । दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग सहमति गर्नुपर्ने हो । सीमा क्षेत्रमा भारतीय पक्षले बनाइरहेका बाँधजस्तो देखिने आलीका सम्बन्धमा जानकारी लिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले बताए ।
पुनर्वास नगरपालिकाको वडा नं १ मा पर्ने यस क्षेत्रमा विगतदेखि नै भारतीय पक्षले बेलाबेलामा सीमा अतिक्रमण गरिरहेको स्थानीय बासिन्दा बताउँछन् । दुई देशीय सीमा क्षेत्रमा कुनै एक पक्षले कुनै पनि संरचना बनाउन नपाइने अन्तर्राष्ट्रिय मान्यता भए पनि बीचफाँटाको दशगजामा भारतीय पक्षले बेलाबेलामा मनोमानी गरिरहेको सीमा क्षेत्रका जानकार कुबेर नाथ बताउँछन् ।
नेपाल भारत सीमा स्तम्भमा भारतीय पक्षले तीन मिटर अग्लो बाँधजस्तो देखिने संरचना बनाए पनि नेपाली पक्षले रोक्न समयमा पहल नगरेपछि समस्या बल्झिरहेको समाजसेवी अमरजन साउदको भनाइ छ ।
परासनको बीचफाँटामा भारतले २०६० सालदेखि पटकपटक सीमाको अतिक्रमण गरिरहेको र अहिले आएर फेरि दशगजा नै मिचिने गरी बनाएको बाँध जस्तो संरचनाबारे संसद्को ध्यानाकर्षण गर्न पहल गर्ने क्षेत्र नं १ का सभासद् दिवानसिंह विष्टले बताए । नेपाल सरकारले यहाँको सीमा क्षेत्रको वैज्ञानिक रूपमा खोज र दशगजा निर्माणमा पहल नथाल्दा सीमा व्यवस्थित हुन नसकेको दुःखेसो स्थानीयवासीको रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु