‘मधेस आन्दोलनबाट राष्ट्रियतामथि खतरा’
काठमाडौँ । मधेसमा जारी आन्दोलनले नेपालका राष्ट्रियतामाथि गम्भीर प्रश्नचिन्ह् खडा गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेकपा माओवादी निकट देशभक्त संघीय जनवादी मोर्चा, नेपालले काठमाडौंको संवाद डबलीमा आयोजना गरेको ‘मधेस आन्दोलन र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् ।
नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले मधेसमा जारी आन्दोलनले नेपालको राष्ट्रियता नै धरापमा पर्न सक्ने भन्दै सन् १९५० को सुगौली सन्धी खारेज गर्नुपर्ने बताए । नेपालभित्रको समस्या नेपालीहरुले नै समाधान गर्नुपर्ने बताउँदै शाहले भारतको मुख ताक्नु गलत भएको बताए । ‘जति आन्दोलन गरेपनि मधेसको समान्त वर्गले उत्पीडित मधेसी जनताको मुक्ति गर्दैन, राज्य सत्ताले विभेदमा पारेका हिमाल, पहाड र मधेसमा उत्पीडित जनता एक हुनुपर्छ’ शाहले भने । उनले केही मधेसी मोर्चाका नेताहरुले सत्तामा पुग्न मधेसी जनतालाई उपयोग गर्दै आएको आरोप लगाए ।
कार्यक्रममा नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य इश्वरी दाहाल ‘असारे काका’ ले आफ्नो पार्टी मधेसी जनताका जायज मागको पक्षमा रहेपनि बिखण्डनवादी सोच र प्रवृतिको विरुद्धमा रहेको बताए । ‘केही नेताहरुलाई सत्तामा पुर्याउन मधेसी जनताको नाममा हुँदै आएका छन्, जारी आन्दोलन पनि केही नेतालाई सत्तामा पुर्याएर सकिने छ, यसमा मधेसी जनता सर्तक हुनुपर्छ’ दाहालले भने ।
एमाओवादीका पोलिट्व्यूरो सदस्य विश्वनाथ साहले अधिकार प्राप्तिको लागि मधेसी जनता पटक–पटक आन्दोलनमा आएको तर काठमाडौंमा र मधेसमा रहेको शासकीय प्रवृतिले मधेसी जनताले अधिकार नपाएको बताए । मधेसमा जारी आन्दोलनपछि भारतले गरेको नाकाबन्द गरेको र उक्त नाकाबन्द राष्ट्रियतासँग जोडिएकाले अवस्था गम्भीर भएको नेता साहले बताए । उनले संविधान संशोधनमार्फत मधेसी जनताका माग पूरा गर्न सकिने समेत बताए ।
नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले मधेसी जनता अधिकारको लागि आन्दोलनमा आएको बताए । उनले मधेसी जनताको भावनामा पहाडिया र मधेसी शासकहरुले खेलवाड गरेको बताए । कार्यक्रममा बोल्दै यादवले यस्तो अवस्था लामो समयसम्म जारीरहे फिजीकरण हुने बताए । ‘मधेसमा क्रान्तिकारी राष्ट्रवादमा जनतालाई गोलबन्द गर्न नसके मधेस फिजीकरण हुनबाट कसैले रोक्न सक्दैन, यो मधेसी जनताका कारण नभएर काठमाडौं र मधेसका शासक वर्गका कारण हुन्छ’ यादवले भने । यादवले नेपालमा मण्डले राष्ट्रवाद, लम्पसार र क्रान्तिकारी गरी तीन प्रकारका राष्ट्रवाद भएको बताउँदै ‘मधेसमा लम्पसार राष्ट्रवाद, काठमाडौंमा मण्डले राष्ट्रवाद छ, हामी दुबैको विरोध गर्दै क्रान्तिकारी राष्ट्रवादको पक्षमा छौँ’ उनले भने । यादवले नाकाबन्द भारतले नगरेको बताउँदै आफ्नो पार्टीले गत साउन २३ गतेको बैंठकले नाका केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको तर शक्ति अभावमा गर्न नसकेको बताए ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले मधेसी मोर्चाका नेता–कार्यकर्ता दशगजाबाट नेपालीभूमिमा ढुङ्गा हानेर आपाराधीले गर्ने जस्ता कार्य गरेको बताएका छन् । ‘दशगजा भनेको दुई देशको सीमा हो, त्यहाँ कसैले आन्दोलन गर्ने अधिकार हुँदैन, तर त्यहाँ अपराधी जान सक्छ,’ उनले अगाडि भने, ‘अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजामा उभिएको अपराधीले कुनै सीमा पार नगर्दासम्म दुबै देशले समात्न पाउँदैनन् ।’ मधेसी मोर्चाका नेताले मधेसी जनतामा अफवाह फैलाएको बताए । ‘नयाँ संविधान जारी भए मधेसीको जमीन खोसिन्छ, भारतसँग विवाहबारी हुँदैन भनेपछि मधेसी जनता सडकमा आएका हुन्’ श्रेष्ठले भने । उनले भारततर्फको दशगजामा महेश अग्रवालको दानापानी खाएर नेपालमाथि ढुङ्गा हान्ने नेताहरु राष्ट्रवादी हुन नसक्ने बताए ।
कार्यक्रममा मधेसी जनता पार्टीका अध्यक्ष महेश साह कलवारले नेताहरुले समानुपालिक र समावेशीलाई दुरुपयोग गरेकाले विभेदमा पारिएका जनताले अधिकार नपाएको बताए । उनले संविधान संशोधनवाट मधेसी जनताको अधिकार सुनिश्चित नहुँने बताउँदै अधिकार प्राप्तिको आन्दोनल अगाडि बढ्ने बताए ।
ग्रेटर नेपालका उपाध्यक्ष बिएन शर्माले मधेसमा जारी आन्दोलन राष्ट्रियहितमा नभएको बताए ।
मोर्चाका अध्यक्ष तिलक परियारले राष्ट्रियताको सुरक्षाको लागि सबैसँग सहकार्य गर्न तयार भएको बताए ।