संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित
काठमाडौ, २९ पुस । व्यवस्थापिका–संसद्को बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । सभामुख ओनसरी घर्ती बिरामि श्रीमानलाई भेट्न थाइल्याण्ड गएको र संशोधन विधेयकमा दलहरुबीच सहमति भैनसकेकोले पनि बैठक स्थगित गरिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । भोलिका लागि पूर्वनिर्धारित बैठक अब माघ ५ गते दिउँसो १ बजे बस्ने सूचना टाँस गरी जानकारी गराईएको छ । संविधान संशोधनसम्बन्धी विधेयकमा राज्यका प्रमुख अङ्गमा समावेशी, समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने र कम्तीमा एक जिल्लालाई एक निर्वाचन क्षेत्र कायम गरी बाँकी निर्वाचन क्षेत्र जनसङ्ख्याका आधारमा तोक्ने प्रस्ताव गरिएकोले त्यसमा सहमति जुटाउन दलहरु प्रयासमा रहेका छन् ।