कांग्रेसलाई सरकारमा जान हतार छैन : देउवा
काठमाडौं, १ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई अहिले सरकारमा जान हतार नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले शुक्रबार बिहान पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले सरकारलाई ठीकसँग चलाउन बलियो प्रतिपक्षीको खाँचो पर्ने भएकाले कांग्रेसले प्रतिपक्षीमै रहेर राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताए ।
नयाँ संविधान जारी भएपछि सीमाङ्कन र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्छ भनेर केही मधेसवादी दलको असन्तुष्टि पैदा भएको स्मरण गराउँदै उनले कांग्रेसले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावले उनीहरुको माग पूरा भइ देशमा सहज वातावरण बन्ने दाबी गरे । कांग्रेसको आसन्न तेह्रौँ महाधिवेशन पार्टी एकता र संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले लामो समयदेखि जनप्रतिनिधिहरुबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएको बताए । उनले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यबाट बनेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएको टिप्पणी गरे । – रासस