मधेसी मोर्चाले लाठी जुलुस प्रदर्शन गर्ने
काठमाडौं, २ माघ । विगत पाँच महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले केन्द्रीय कार्यक्रम अन्तर्गत आज मधेसका २२ वटै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्न लागेको छ । आज दिउँसो १ बजेपछि हुने लाठी जुलुस प्रदर्शनको कार्यक्रम शान्तिपूर्ण हुने मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका सर्लाही अध्यक्ष एवं सांसद जंगिलाल रायले बताए । मोर्चाले लाठी जुलुस प्रदर्शन गर्ने भएपछि तराईका जिल्ला सदरमुकामहरुमा उच्च सुरक्षा सतर्कता अपनाइएको सुरक्षा निकायले जनाएको छ । संभावित घटनालाई मध्यनजर गर्दै सदरमुकाममा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले बताए ।
मोर्चाले सरकारसँग पटक–पटक भएको वार्ता सकारात्मक नभएपछि पुस २७ गते देखि माघ ५ गतेसम्मका लागि आन्दोलनका थप कार्यक्रम घोषणा गरेको थियो । तर मोर्चाको पछिल्ला दिनका आन्दोलनको कार्यक्रममा नेता कार्यकर्ताको उपस्थिति भने पातलिँदै गएको छ ।
मोर्चाको आन्दोलन मत्थर हुँदै गएपछि तराईका मूख्य बजार वीरगंज, कलैया, गौर, मलंगवा, जलेश्वर, जनकपुर, राजविराजको अवस्था सामान्य बन्न थालेको छ । सीमाङ्कन र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले आन्दोलन थालेको आज एकसय ५४ दिन पुगेको छ ।