वैद्य माओवादीले स्थानीय चुनावमा भाग लिने

२०७२ माघ ३ गते, आईतवार

काठमाडौ, ३ माघ । मोहन वैद्य नेतृत्वको माओवादीले स्थानीय चुनावमा भाग लिने भएको छ । ३३ दलीय मोर्चा बनाएर दोस्रो संविधानसभा निर्वाचन अवरोधको प्रयाससहित बहिष्कार गरेको वैद्य माओवादी अहिले नयाँ संविधानबमोजिम हुने निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको छ । परी थापा नेतृत्वको नेकपा (एकीकृत) सँगको एकतापछि बनेको क्रान्तिकारी माओवादीले पहिलो चरणमा स्थानीय निर्वाचनमा भाग लिने भएको हो ।
‘हाम्रो ताकतले न संविधानसभा भत्काउन सकियो, न त संविधान रोक्न । अब के गर्ने भन्ने पार्टीमा बहस छ । स्थानीय निर्वाचनमा जानुपर्छ कि भन्ने मत पार्टीमा छ,’ संविधान जारी भएको पाँचौँ दिन ८ असोजमा पार्टीको नेवा: राज्य कार्यालय कुपन्डोलमा आयोजित कार्यकर्ता प्रशिक्षणमा वैद्यले पहिलोपटक कार्यकर्तामाझ स्थानीय चुनावमा जान सकिने संकेत गरेका थिए ।
माओवादी नेताहरूमा कार्यनीतिक नाराका रूपमा चुनावलाई उपयोग गर्नुपर्छ भन्ने मत अधिक छ । ०४८ को संसदीय निर्वाचनलाई पनि कार्यनीतिक रूपमा उपयोग गरिएको नजिरलाई लिएर आगामी चुनावमा भाग लिने वैद्य माओवादीका नेताहरूको निष्कर्ष छ ।

प्रतिक्रियाहरु

[anycomment]