कांग्रेस महाधिवेशन प्रतिनिधि चुन्दै
काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि आज महाधिवेशन प्रतिनिधि चयन गरिँदैछ । महाधिवेशनपछिको अर्को शक्तिशाली निकाय मानिएको महासमितिका लागि पनि आजै सदस्य चयन हुँदैछन् । हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ११ जना महाधिवेशन प्रतिनिधि चुनेर सम्पन्न हुने यस अधिवेशनले आगामी महाधिवेशनमा नेतृत्वको दावी गरिरहेका नेताहरुको हैसियत पनि प्रष्टयाउने भएकाले निर्वाचनलाई महत्वका साथ हेरिएको छ । यसका साथै यस अधिवेशनले हरेक क्षेत्रमा आगामी चार वर्षसम्मका लागि कांग्रेसको क्षेत्रीय कार्यसमिति निर्माण गर्नेछ । यही १५ गते देशभरका गाउँ र नगरपालिका इकाई कमिटीबाट चुनिएका प्रतिनिधि मतदाता रहने यस अप्रत्यक्ष निर्वाचनबाट समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा दलित, महिला, आदिवासी–जनजाति र अल्पसंख्यक कोटामा पनि प्रतिनिधि चयन गर्नेछ ।
यसै आधारमा आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा केन्द्रीय कार्यसमिति चयन हुनेछ । क्षेत्रबाट १२ जनाका दरले चुनिने २८ सय ८० जनाकाअतिरिक्त विभिन्न भ्रातृ संस्था, विदेशस्थित जनसम्पर्क समिति, केन्द्रीय समितिका ८५ जना सदस्य तथा केन्द्रीय सभापतिले मनोनयन गर्ने ३० जनासहित तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले आगामी महाधिवेशनमा मतदाताका रुपमा भाग लिनेछन् ।
यसैगरी अधिवेशनले हरेक क्षेत्रबाट पाँच जनाका दरले महासमिति सदस्यको पनि चयन गर्ने नेपाली कांग्रेस १३ औं महाधिवेशन निर्वाचन कार्यक्रमका प्रमुख अधिकृत राधेश्याम अधिकारीले बताए ।