कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने

काठमाडौं, २६ माघ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले कोइरालाको निधनमा शोक मनाउन भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । गएराति १२ः५० मा कोइरालाको निधन भएको थियो । बुधबार दिउँसो कोइरालाको पार्थिव शरीर अन्त्येष्टि गरिने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार कोइरालाको निधनमा शोक मनाउन बुधबारदेखि तीन दिनसम्म देशभरका सरकारी कार्यालयहरु, विदेशमा रहेका कुटनीतिक नियोगका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । यसैगरी तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय पनि सरकारले गरेको छ ।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सभापति सुशील कोइरालाको अन्त्यष्टि बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जालीका लागि मंगलबार दिउँसो १२ बजेदेखि दशरथ रंथशाला त्रिपुरेश्वरमा राख्ने निर्णय गरेहको हो ।
त्यस्तै कांग्रेसले १३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र सात दिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको नेता महेश आचार्यले जानकारी दिए ।
महाधिवेशनका कार्यक्रम तत्कालका लागि स्थगित भएपनि फागुन १ गते केन्द्रीय निर्वाचन समितिसँग परामर्श गरेर निर्णय लिने कांग्रेसले जनाएको छ ।