धाक धम्कीको प्रबाहा छैन : कार्की

२०७२ माघ २८ गते, बिहीबार

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रजत जयन्तीका अवसरमा प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफू धाक, धम्कीको लहैलहैमा नडराउने प्रष्ट पारेका छन् । आयोगको रजत जयन्तीका अवसरमा आज नेपाली जनताका नाममा अपील जारी गर्दै उनले आयोगविरुद्ध विभिन्न कोणबाट भइरहेको नकारात्मक टिप्पणीकोसमेत आलोचना समेत गरेका छन् । ‘आयोगले भोगेको असहजता र यथार्थलाई नजरअन्दाज गरी आयोगविरुद्ध विभिन्न कोणबाट गरिने केही मिथ्यापूर्ण अभिव्यक्तिलाई मैले अन्यथा मानेको छैन,’ उनले भनेका छन्, ‘नागरिक आँखाबाट हेर्दा आयोगले ठूला माछालाई कारवाहीको दायरामा ल्याओस् भन्ने अपेक्षा आफैंमा युक्तिसंगत नै छ तर आयोगले भ्रष्टाचारलाई ठूला वा साना माछाका रुपमा विभेद नगरी एउटा जघन्य आपराधिक प्रवृत्तिका रुपमा आत्मसात् गर्दै आएको छ ।’
भ्रष्टाचार नियन्त्रण अभियानको यसै सेरोफेरोमा पछिल्ला दिनमा आयोगले आफ्ना कारवाहीका हातहरुलाई जनअपेक्षा बमोजिम अघि बढाउने जमर्को मात्र गरिरहँदा आयोगविरुद्ध फेरि पनि आलोचनाका क्षीण स्वरहरु मुखरित भएको उनले उल्लेख गरेका छन् ।
प्रमुख आयुक्त कार्कीले भनेका छन्, ‘यति मात्र होइन, आयोग नेतृत्वप्रतिको आक्रोश महाअभियोगको तहसम्म लक्षित भएको छ । आयोगविरुद्ध कस्तो आग्रह हो ? ईश्वरप्रतिको अखण्ड आस्था र विश्वासको जगमा म आफ्नो कर्तव्यप्रति सदा अडिग छु । कुनै धाक, धम्कीको लहैलहैमा लागि म कदापि कर्तव्यच्यूत हुने र डग्मगाउने छैन । म हिजो पनि देश र जनताको सर्वोपरी हितलाई शिरोधार्य गरी कर्तव्य निर्वाह गर्न प्रतिबद्ध थिएँ र आज पनि छु । नेपाली जनताको आधारभूत अधिकारको प्रत्याभूति र समुज्जल भविष्य तथा नेपालको समृद्धि नै मेरो एक मात्र मनोकांक्षा हो र यो नै आयोगको रणनीतिक गन्तव्य पनि हो ।’
उनले आफू व्यक्तिगत रुपमा कुनै लोभ, लालच र अपेक्षाप्रति लालायित नभएको प्रष्ट पारेका छन् । ‘ईश्वर र राज्यले मलाई सुम्पिएको संवैधानिक जिम्मेवारी निर्वाह गर्नबाट म कदापि विमुख पनि हुने छैन । यो पदको जिम्मेवारी काँधमा रहुन्जेल कुनै पूर्वाग्रह र द्वेष नराखी निष्पक्ष, निर्भिक र निष्ठाका साथ राष्ट्रको ऋण चुकाउन दत्तचित भई लागिपर्ने कुरामा म पुनः सम्पूर्ण नेपालीजनलाई साक्षी राखी प्रण गर्न चाहन्छु,’ जनताका नाममा गरेको अपीलमा उनले भनेका छन् । नेपाल र नेपालीजनको हितका लागि कार्य गर्दा आईपर्ने जुनसुकै चुनौतिको सामना गर्न वा जस्तोसुकै मूल्य चुकाउन आफू तयार रहेको पनि उनले प्रष्ट पारेका छन् ।
‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा सुविधा सहज र सरल रुपमा आमनागरिकको नैसर्गिक हक प्रत्याभूत गराउने दिशामा आयोगले कदाचित विश्राम लिदैन,’ उनले भनेका छन्, ‘आयोग हर क्षण, हर समय तत्पर र तैनाथ रहन्छ । अझ भनौं आयोगको शब्दकोषमा थकाई र विश्राम भन्ने कुनै शब्द नै छैन ।’
सकेसम्म राज्यश्रोतको दोहन गर्न खोज्ने तर राज्यलाई तिनुपर्ने राजस्व दिने बुझाउने दायित्वबाट भाग्न खोज्ने व्यावसायिक क्षेत्रको दोहोरो चरित्र पनि विकास र समृद्धिका लागि बाधक बन्दै आएको उनको भनाई छ । ‘वस्तुतः राजस्व छली आफैंमा गम्भिर अपराध हो । राजस्व बुझाउनुपर्ने नागरिक जिम्मेवारबाट भाग्न खोज्ने तर सार्वजनिक मञ्चहरुमार्फत ठूलो ठूलो स्वरमा अरुलाई अर्ति उपदेश दिने व्यक्ति र घरानाको वास्तविक पहिचान हुनु जरुरी छ,’ उनले भनेका छन्, ‘यसरी राजस्व बुझाउनुपर्ने नागरिक दायित्वबाट उन्मुक्ति खोज्ने प्रवृत्तिमाथि राज्य कठोरतापूर्वक प्रस्तुत हुनैपर्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले, कर तथा भ्याट छलीको प्रवृत्ति विरुद्ध आयोगले विगतदेखि नै निरन्तर अनुगमन गरिरहेको र नियमन र अनुगमनको यो कार्यलाई सम्बद्ध निकायमार्फत निरन्तर जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।’
यसैगरी करको दायराभित्र आउन नसकेका व्यवसायी, व्यावसायिक फर्म तथा कम्पनीहरुलाई कर संजालभित्र समाहित गर्न सकेमा देशलाई प्राप्त हुने राजस्वमा वृद्धि हुनका साथै कराधार समेत विस्तार हुने हुनाले करको दायरा विस्तार सम्बन्धी कार्यलाई अभियानकै रुपमा संचालन गर्नुपर्ने उनले जनाएका छन् ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण आयोगले रजत महोत्सव समारोहका सबै कार्यक्रम स्थगित गरेको पनि प्रमुख आयुक्त कार्कीले जनाएका छन् ।
‘लोकतन्त्रका प्रबल पक्षपाती र मुलुककै एकजना राजनीतिक अभिभावकको निधनले उत्पन्न राष्ट्रिय शोकको यस परिवेशमा आयोगले आफ्ना औपचारिक कार्यक्रमहरु आयोजना गर्न वान्छित नहुने ठहर गर्दै आसन्न रजत महोत्सव समारोह सम्पूर्ण रुपमा स्थगित गर्ने निर्णय लिएको छ,’ उनले भनेका छन्, ‘तथापि आयोग स्थापनाको पच्चीसौं वर्ष पुरा भएको यस अवसरमा आफ्ना केही अभिमतहरु नेपाली दाजुभाई दिदिबहिनी समक्ष संप्रेषित र संचारित गर्नुपर्ने आवश्यकता बोध गर्दै यस अपिलमार्फत यताका दिनमा आयोगले निर्वाह गर्दै आएको क्रियाशिलता, सामना गर्नु परिरहेका चुनौति र आफ्ना रणनीतिक गन्तव्य लगायतका विषयमा संक्षिप्त प्रकाश पार्ने जमर्को गरेको छु ।’

प्रतिक्रियाहरु

[anycomment]