ओलीको भ्रमणलाई भारतले विशेष महत्व दिने

२०७२ फाल्गुन ३ गते, सोमबार

काठमाडौ, ३ फागुन । आगामी फागुन ७ गतेबाट हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई भारतले विशेष महत्व दिने भएको छ । भारतमा
प्रधानमन्त्री ओलीको स्वागत र आतिथ्यलाई समेत विशेष महत्व दिने गरी तयारी सुरु भएको छ । त्यसको जानकारी भारतले नेपाल सरकारलाई दिइसकेको छ । प्रधानमन्त्री ओलीको ४ दिने भारत भ्रमणलाई भारतले ऐतिहासिक बनाउने तयारी गरिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
स्वागत र बसाईका हिसावले यसअघि अरु प्रधानमन्त्रीभन्दा विशेष बनाउने भारतको तयारी छ । प्रधानमन्त्री ओलीको बसाईको व्यवस्था यसपटक राष्ट्रपति भवनमा गरिनेछ ।
यसअघिका प्रधानमन्त्रीलाई पाँच तारे होटलमा राख्ने गरिएको थियो । पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीलाई मात्र पहिलो पटक राष्ट्रपति भवनमा राखिएको थियो । भ्रमण टोलीका १० जना विशिष्ट पाहुना प्रधानमन्त्रीसँगै रहेको भवनमा र बाँकीलाई होटलमा राखिनेछ । प्रधानमन्त्री भारत भ्रमणमा पुगेकै भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलको कार्यक्रम तय भएको छ । भ्रमण टोलीमा सबै राजनीतिक दलका नेताहरुसहित ५० सदस्यीय बनाउने तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]