प्रधानमन्त्री ओली दिल्लीमा राजनीतिक भेटवार्तामा व्यस्त
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि दिल्लीमा राजनीतिक भेटवार्ता सुरु गर्दै छन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको राजकीय भ्रमणमा जानु भएका प्रधानमन्त्री ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्नेछन । बिहान राष्ट्रपति भवनमा राजकीय सम्मानका साथ स्वागत पाएपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको स्मारकमा पुगी माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सवा ११ बजे भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता हुनेछ । दुई देशबीच सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य पनि आजे जारी हुने बताइएको छ ।
आजै दिउँसो हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा दुईपक्षीय सम्बन्ध, नेपाल भारतीबीचको प्राथमिकताका आयोजना, भूकम्पपछिको पुनःनिर्माणमा छलफल केन्द्रित हुनेछ । प्रधानमन्त्री ओलीले सरोकारवाला, दलहरुसँगको छलफलका आधारमा एजेण्डा राख्ने बताइएको छ ।
आजै साँझ गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अर्जुन जेट्लीसँग पनि राष्ट्रपति भवनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भारतीय उपराष्ट्रपतिसँग पनि भेटवार्ता हुनेछ ।
साँझ सवा ६ बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेपछि पहिलो दिनको कार्यतालिका सकिने भ्रमण टोलीमा रहनु भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।