सर्वोच्चको न्यायाधीशमा झन्डै एक दर्जनको नाम सिफारिस

२०७२ फाल्गुन १९ गते, बुधबार

काठमाडौं, १९ फागुन । न्याय परिषद्को हिजो साँझ बसेको बैठकले सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । बैठकले कानुन व्यवसायीबाट ४ र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जनाको नाम सिफारिस गरेको हो । सिफारिसको रोलक्रम अनुसार पुनरावेदन अदालत बाग्लुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् । त्यस्तै केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का क्रमशः दोस्रो, तेस्रो र चौथो वरियतामा छानिएका छन् । चालिसे पुनरावेदन अदालत विराटनगर, घिमिरे बुटवल र खड्का इलामकी मुख्य न्यायाधीश हुन् । उमेर हदका कारण उनीहरु चारै जनाले प्रधानन्यायाधीश नभईकनै अवकाश पाउने छन् ।
न्यायाधीशहरुको क्रमलाई भंग गर्दै पाँचौं वरियतामा भने महान्यायाधीवक्ता हरिकृष्ण कार्की परेका छन् । उनले हिजै साँझ राष्ट्रपति समक्ष राजीनामा बुझाएपछि परिषद् बैठकले नाम टुंगो लगाएको हो । कार्की न्यायाधीशमा नियुक्त भए २०७९ मंसिर २८ गते प्रधानन्यायाधीश हुने छन् ।
त्यसैगरी परिषद्ले हेटौंडाका मुख्य न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, पुनरावेदन अदालत राजविराजका ईश्वर खतिवडा र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई सिफारिस गरेको छ । श्रेष्ठ पनि प्रधानन्यायाधीशको रोलक्रममा बसेका छन् भने अन्य न्यायाधीश बीचमै अवकाश पाउने छन् ।
त्यस्तै नवौं वरियतामा परेका वरिष्ठ अधिवक्ता अनिल सिन्हा सिफारिसमा परेका चार कानुन व्यवसायीमध्ये प्रधानन्यायाधीश हुन नपाउने एकमात्र उम्मेदवार हुन् । दशौं वरियतामा परेका वरिष्ठ अधिवक्ता प्रकाश राउत पनि प्रधानन्यायाधीश हुने गरी लगिएका छन् । ११ औं वरियतामा परेकी वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान भने सिफारिस पर्नेमा सबैभन्दा धेरै समय प्रधानन्यायाधीश हुने भएकी छन् । उनी २०८२ चैत १९ गतेदेखि २०८५ कात्तिक २८ गतेसम्म प्रधानन्यायाधीश हुनेछिन् ।
सर्वोच्च अदालतमा हाल १० जना न्यायाधीश छन् । संविधानअनुसार सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी छ ।

प्रतिक्रियाहरु

[anycomment]