कांग्रेस महाधिवेशनको निर्वाचन तालिका प्रकाशन
काठमाडौं, १९ फागुन | नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि निर्वाचन तालिका प्रकाशन गरेको छ । कार्यक्रमअनुसार विभिन्न पदमा उम्मेदवारी दर्ताको समय फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरिएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने फागुन २१ गते बिहान ११ बजे हुने भएको छ । प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय दिइएको छ ।
निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने २१ गते बेलुका ६ बजेसम्म गरिने भएको छ ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजेदेखि ११ बिहान बजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने जनाइएको छ । नेतृत्व चयनका लागि मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ । फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ ।
मतदानमा विद्युतीय यन्त्र भने प्रयोग नगरिने भएको छ । प्राविधिक समस्याका कारण विद्युतीय यन्त्रमार्फत मतदानको कार्यक्रम नगरिने भएको जनाइएको छ ।