कांग्रेसको महाधिवशेनमा ३ सय ७५ जना चुनावी मैदानमा

२०७२ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौ, २१ फागुन । नेपाली कांग्रेसको तेह्रौँ महाधिवशेनमा सभापति र महामन्त्रीमा तीन–तीन जना र कोषाध्यक्षमा ४ जनालगायत ३ सय ७५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले तथा महामन्त्रीमा, अर्जुन नरसिंह केसी, शशांक कोइराला र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ । कोषध्यक्षका उम्मेदवार काकीले एकल उम्मेदवारी दर्ता गर्नुभएको हो भने बाँकी सबैले प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् । केन्द्रिय सदस्यतर्फ खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा ४० जनाको उम्मेदवारी परेको छ ।
यस्तै प्रदेशको १४ सिटका लागि १०२ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा ५० जना तथा महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रिय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए । यस्तै दलिततर्फको तीन सिटमा २१ जना तथा महिलातर्फको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । मुस्लिमतर्फको एक सिटका लागि १०, मधेसी पुरुषतर्फ तीन सिटमा १८ र महिलातर्फ दुई सिटमा १० जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]