काँग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि मतदान सुरु

२०७२ फाल्गुन २३ गते, आईतवार

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदाता सुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको उक्त निर्वाचनमा तीन पदाधिकारीसहित ६१ सदस्यका लागि ३१२ जनाले प्रतिस्पर्धा गर्न लागेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे जानकारी दिए । फागुन २० र २१ गते भएको मनोनयन दर्तामा पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा ३७५ जनाले उम्मेदवारी दर्ता गराएकामा ६३ जना केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन फिर्ता लिएका थिए । समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापति, महामन्त्री र कोषाध्यक्ष पदका १० जना उम्मेदवारमध्ये कसैले पनि नाम फिर्ता लिएका छैनन् ।
सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले समूहसहित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तीनै समूहबाट महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापाले उम्मेदवारी दिएका छन ।
त्यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सिराहा काँग्रेसका निवर्तमान अध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री उमाकान्त चौधरी र नेता कृष्ण कार्कीले प्रतिस्पर्धा गर्दै छन । पदाधिकारीका सबै प्रतिस्पर्धी समूहगत रुपमा चुनावी मैदानमा उत्रिएका हुन् भने कार्की समूह बिनाएक्लै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]