कांग्रेसको सभापति उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न सकेनन्
ठमाडौं, फागुन २४ । नेपाली कांग्रेसको सभापति चयनका निम्ति हिजो सम्पन्न मतदानमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न सकेनन् । तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत पुर्याउन नसक्दा आज फेरि अर्को चरणको मतदान हुने भएको हो ।सभापति पदमा भएको मतगणनामा वरिष्ठ नेता शेरबहादुर देउवालाई ११ मत नपुग्दा उनी विजयी हुन सकेनन् । सभापतिका प्रत्याशी देउवाले एक हजार ५६४ मत पाए । जबकी जितका लागि कूल खसेको मत ३ हजार १४८ को ५० प्रतिशतभन्दा बढी अर्थात् एक हजार ५७५ मत जरुरी पर्ने थियो ।
अर्का प्रत्याशी कार्यवाहक सभापति रामचन्द्र पौडेलले भने एक हजार १६० तथा महामन्त्री कृष्ण सिटौलाले ३२४ मत पाए ।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको मतगणनामा १०१ मत बदर भएको छ ।
सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनै पर्ने प्रावधान रहेकाले कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि अब अर्को चरणको मतदान आजै गरिने छ ।
तीन हजार १४८ जनाले मत दिएकामा सभापतिमा जित्न १५७५ मत ल्याउनै पर्ने वैधानिक प्रावधान रहेको छ ।
आजै गरिने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिष्पर्धी रामचन्द्र पौडेलबीच मात्र निर्वाचन हुनेछ । तेस्रो भएका सिटौला भने प्रतिष्पर्धाबाट बाहिरिएका छन् । अब उनले कसलाई समर्थन गर्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ ।
तीनै जना नेताले आ–आफ्नो प्यानल खडा गरी मैदानमा उत्रिएका थिए । महामन्त्रीमा अर्जुननरसिंह केसी, सशांक कोइराला र गगन थापा प्रतिष्पर्धामा छन् ।
कोषाध्यक्षमा भने चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की मैदानमा छन् । पदाधिकारीका अरु पद र ६१ केन्द्रीय सदस्यको मत गणना भने अर्को चरणमा हुने सभापति पदको निर्वाचनपछिको गणना सकिएपछि पार्टी मूख्यालय सानेपामा गरिने छ ।