कांग्रेस सभापतिका लागि दोस्रो निर्वाचन दिउँसो २ बजेदेखि
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो हुने भएको छ । दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए । आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो । सभापतिको दोस्रो निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेभएको छ । अघिल्लो निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा थोरै मत प्राप्त गरेपछि निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । – रासस