कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुन्छ : देउवा

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शुभकामना तथा बधाई दिन राजधानीमा गरेको कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले आफ्नै दलको नेतृत्वले जारी गरेको संविधान कार्यान्वयनमा ल्याउनु आफ्नो पहिलो प्राथमिता भएको बताए । उनले मधेसमा भएका असन्तुष्टिलाई लचकताका साथ सम्बोधन गर्न आफू तयार रहेको भन्दै सहमतिबाटै सबै कुरा टुंग्याउने प्रतिबद्धता व्यक्त गरे । आफ्नो काँधमा आएको जिम्मेवारी पार्टीभित्र र बाहिर दुवै ठाउँमा पुरा गर्न आफू सक्षम रहेको भन्दै देउवाले सबैलाई मिलाएर अगाडि बढ्ने पनि बताए । उनले नेपाली कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा नहुने पनि बताए । सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै सबैलाई समेटेर बढ्ने उनको भनाइ थियो । कार्यक्रममा नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले मुलुकलाई गतिशील बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको भन्दै मेलमिलापको नीतिबाट अगाडि बढ्नु पर्ने बताए । उनले कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा काठमाडौं जिल्ला कार्यसमितिले नेपाली कांग्रेसका नवनिर्वाचित सभापतिसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको थियो ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। मनोनित हुनेहरुमा रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र नरहरि आचार्य छन् । आचार्य बाहेक सबै भर्खरै सम्पन्न महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरी पराजित भएकाहरु हुन् । आचार्य भने पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि मस्तिष्कघात भई उपचारपछि भर्खरै घर फर्किएका छन् । उनी अझै पूर्ण स्वस्थ्य भइसकेका छैनन् । कांग्रेसको विधान अनुसार सभापतिले उपभापति, एक महामन्त्री र सहमहामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनित गर्छन् ।

प्रतिक्रियाहरु

[anycomment]