चीन भ्रमणबारे नयाँ शक्तिको सात बुँदे सुझाव

२०७२ चैत्र ६ गते, शनिबार

काठमाडौ, ६ चैत । नयाँ शक्तिले प्रधानमन्त्री के पी ओलीको चीन भ्रमणका अवसरमा नेपालको तर्फबाट उठाउनुपर्ने विषय प्रेस बक्तब्यमार्फत सार्वजनिक गरेको छ । नयाँ शक्ति नेपालका विदेश विभाग संयोजक नवराज सुवेदीले विज्ञप्ती नै निकालेर चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको राष्ट्रिय हितमा असर पर्ने दीर्धकालीन महत्वका कुनै सन्धि सम्झौता नगर्न सुझाव दिएका छन् । संयोजक सुवेदीले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे नयाँ शक्तिको ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्ती जारी गरेर सात बुँदे सुझाव दिएका हुन् । नयाँ शक्तिले प्रधानमन्त्री ओलीको चीन भ्रमणका अवसरमा नेपालको तर्फबाट उठाउनुपर्ने विषय सार्वजनिक जारी गरेको प्रेस बक्तब्यको पूर्ण विवरण यस प्रकार रहेको छ– ‘नेपाल–चीन सुमधुर सम्बन्धको लामो इतिहास भएको सर्वविदितै छ । दुई देशबीचको कुटनैतिक सम्बन्धका ६० वर्ष पूरा भएका छन् । यस अवसरमा हामी दुवै देशका सरकार र जनताप्रति हार्दिक आभार प्रकट गर्दछौं । हाम्रा, दुई देशबीचका, सम्बन्ध सार्वभौमिक समानता, राष्ट्रिय अखण्डता र पारस्परिक सम्मानमा आधारित छन् । चीनले नेपालको सार्वभौमिक स्वतन्त्रता र राष्ट्रिय अखण्डताको सधैं सम्मान गर्दै आएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘नेपालले पनि सोही नीति अवलम्बन गर्दै एक चीन नीतिमा दृढतापूर्वक उभिँंदै आएको छ । नेपालको विकासलाई सहयोग पुग्ने गरी कैयौं परियोजनाहरुमा चीनले काम गर्दै आएको समेत स्पष्ट छ । दुई देशबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रधानमन्त्री केपी ओली ज्यूको आसन्न भ्रमणले थप मद्दत पु¥याउने छ भन्ने हामीले आशा राखेका छौं ।’ नयाँ शक्तिले प्रेस बक्तब्यमार्फत सार्वजनिक गरेको ७ बुँदे सुझाव–
१. नेपालले चीनसँग पारवहन, बिप्पा र ईन्धन आपूर्तीका लागि सहकार्यमा जोड गर्नुपर्दछ र त्यसो गर्दा हाम्रो राष्ट्रिय हित र आपसी सम्वन्धलाई अझ बलियो बनाउने बिषयमा स्पष्ट हुनुपर्ने ।
२. नेपालले ब्यहोरिरहेको चीनसँगको ब्यापार घाटा कम गर्नकालागि चीनले नेपालकालागि भन्सार महसुलमा छुट लगायत, आर्थिक सहकार्यका बिशेष नीति बनाउन हाम्रा प्रधानमन्त्रीका तर्फबाट स्पष्ट योजनाहरु प्रस्तावित गर्नुपर्ने ।
३. नेपाल दुई ठूला छिमेकीहरुको बीच असल छिमेकी र गतिशील पुलको रुपमा काम गर्न चाहन्छ । यसका लागि भारत, चीन र नेपालबीच सहकार्यका क्षेत्रहरुका बारेमा समेत कुरा गर्नुपर्ने र नेपाललाई दुई छिमेकीबीचको गतिशील पुलको रुपमा स्थापित गर्नुपर्ने । त्यसक्रममा नेपाल र चीन जोड्ने आधुनिक सडक र रेलमार्ग निर्माणमा जोड दिने ।
४. नेपालको समग्र आर्थिक विकासमा चीनबाट ठोस सहयोगको लागि नेपाल सरकारले स्पष्ट योजना साथ आफ्ना प्रस्तावहरु राख्नुपर्ने । खासगरी नेपालको पूर्वाधारको विकासका लागि अनुदानका साथै कतिपय अत्यावश्यकीय क्षेत्रमा सस्तो ब्याजदरमा चीनिया पूँजी उपलव्ध गराउन अनुरोध गर्ने ।
५. भूकम्पले ध्वस्त पारेका कतिपय पुरातात्विक संरचनाहरुको पुनर्निर्माणमा चीनले देखाएको तत्परताको सराहना गर्दै विस्थापित जनताको पुनस्र्थापना र सामूहिक आवासहरुको निर्माणका निम्ति समेत अनुरोध गर्ने ।
६. समग्र दक्षिण एशियामै पर्यावरणीय सन्तुलन खलवलिएको र त्यसबाट प्राकृतिक र मानवीय विनासका दुरगामी परिणामहरु निम्तिएको अवस्थामा हिमपर्वतहरुको संरक्षण गर्नु नेपाल र चीन दुवैका लागि महत्वपूर्ण छन् । त्यसकालागि चीनसँग बिशेष सहकार्य आवश्यक भएको कुरा प्रष्ट गर्ने ।
७. नेपालको राष्ट्रिय हितलाई प्रतिकूल असर पर्नेगरी तत्कालीन वा दीर्घकालीन महत्वका कुनै सन्धि सम्झौताहरु हुन नहुने ।

प्रतिक्रियाहरु

[anycomment]