नेपाल–चीन सम्झौताले भारतलाई तनाब

२०७२ चैत्र ९ गते, मंगलवार

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सोमबार नेपाल र चीनबीच विभिन्न १० बुँदामा सहमति भएको छ । यो सहमति पछि भारतलाई तनाब भएको बुझिएको छ । नेपाल र चीनबीचको सम्झौतालाई भारतले ‘आफ्नो उपेक्षा’ का रुपमा हेर्न थालेको भारतीय दैनिक पत्रिकामा प्रकाशित समाचारबाट प्रष्ट हुन्छ । हिन्दुस्तान दैनिकले ‘चीनले नेपालसम्म रेल पुर्‍याउने’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । उसले समाचारको सुरुवात मै भनेको छ, ‘नेपालले भारतसँगको निर्भरता पूर्ण रुपमा अन्त्य गर्नका लागि सोमबार चीनसँग ऐतिहासिक पारवहन सन्धिसहित १० सम्झौतामा हस्ताक्षर गरेको छ ।’ यस अतिरिक्त चीनले नेपालको आन्तरिक मामलामा कुनै प्रकारको हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उसले समाचारमा यो प्रसंग जोडेर भारतका तर्फबाट नेपालको आन्तरिक मामलामा भएको हस्तक्षेपकै जवाफस्वरुप नेपाल र चीनबीच यस प्रकारको सम्झौता भएको संकेत गरेको हो ।
त्यसैगरी नवभारत टाइम्सले पनि ‘नेपालसम्म चीनले रेल ल्याउने’ शीर्षकमा समाचार प्रकाशित गर्दै सोमबार नेपाल र चीनबीच भएको १० बुँदे सम्झौतालाई प्राथमिकतामा राखेको छ । समाचारमा भनिएको छ, ‘सामरिक र रणनीतिक रुपमा महत्वपूर्ण छिमेकी मुलुक नेपाल र चीनबीच निकटता बढेको छ । भारतमाथिको आफ्नो निर्भरतालाई कम गर्न र पछिल्ला दिनमा भएको आर्थिक नाकाबन्दीबाट पाठ सिक्दै नेपालले चीनसँग रेल लिंक निर्माणका लागि सम्झौता गरेको छ ।’ उक्त सम्झौतामा उल्लेखित विषय, खासगरी रेल लिंक निर्माण भारतका लागि चिन्ताको विषय बनेको पनि समाचारमा जनाइएको छ ।
त्यसैगरी दैनिक जागरणले पनि नेपाल र चीनबीच रेल सम्झौतामा हस्ताक्षर हुनु भारतका लागि चिन्ताको विषय भएको प्रष्ट पारेको छ । उसले समाचारमा भनेको छ, ‘नेपाल र चीनबीच रेल लाइन विस्तार हुनु भारतका लागि सामरिक चुनौतिको विषय हुन सक्छ ।’

प्रतिक्रियाहरु

[anycomment]