नेपाल र चीनद्वारा संयुक्त विज्ञप्ति जारी
काठमाडौं, १० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा चीनले नेपालको नयाँ संविधानको स्वागत गर्दै नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने कामना गरेको छ । त्यसैगरी दुई देशले एक अर्को देशको स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बोधन गर्ने उल्लेख छ ।
नेपालले पनि एक चीन नीतिप्रति प्रतिबद्धता जाहेर गरेको छ । प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको ठहर दुवै देशको छ ।
दुई देशबीच विकास र समृद्धिका नयाँ सम्भावनाहरु खुलेको भन्दै संयुक्त विज्ञप्तिमा समानता र आपसी हितका आधारमा दुवै देशका जनतालाई फाइदा पुग्ने गरी अघि बढ्ने उल्लेख गरिएको छ ।