प्रधानमन्त्रीद्वारा ‘बोआओ फोरम’लाई सम्बोधन
काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरमलाई विहीबार सम्बोधन गर्दै विश्व अर्थतन्त्रको नेतृत्वकर्ताकोरुपमा उदय भइरहेको एसिया २१औं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्रभागमा आइपुगेको बताएका छन् । उनले ‘विश्व अर्थतन्त्रलाई थप मजबुत् बनाउन विश्व समुदायले आज एसियाको आर्थिक गतिविधिलाई नियालिरहेकोबताएका छन । ‘एसियाली मुलुकहरुले अर्थतन्त्रमा गरेको अभूतपूर्व प्रगतिले एसियाको विशाल सम्भावनालाई औंल्याइदिएको छ’–उनले भने । नयाँ खोज र प्रविधिले विकासका नयाँ ढोकाहरु खोलिरहेको बताउँदै उनले भने–‘यस्ता नवीन खोजले मानवको हित सम्बद्र्धन गर्नुपर्छ । हरेक राष्ट्रलाई बेरोकटोक प्रविधिमाथिको पहुँच हुनुपर्छ ।’ ‘एसियालाई समृद्ध बनाउन हाम्रा प्रयासले सहयोगको यस्तो ढाँचा तयार गर्नुपर्दछ जसले अवसर र लाभलाई समान रुपले वितरण गर्नेछ’–उनले थपे । सामूहिक प्रयत्न र सहयोगका अवसरहरुको खोजीलेमात्रै ज्ञानको स्वतन्त्र प्रवाह, निर्वाध व्यापार र सबैले जित्ने अवसर सिर्जना गर्ने विश्वास पनि प्रधानमन्त्री ओली व्यक्त गरे । एसियाले तय गर्ने दूरदृष्टि समावेसी हुनुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले शान्ति र गरिबी सँगसँगै जान नसक्ने उल्लेख गर्दै ‘एसिया निःसन्देह विश्व अर्थतन्त्रको ‘शक्तिकेन्द्र’कारुपमा उदय भइरहेको छ’–भने । एसियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी रहेको पनि उनले औंल्याए । कुनैपनि एसियाली मुलुकलाई पछाडि छाड्यौं भने एसियाको शान्ति र समृद्धिको सपना विफलतामा परिणत हुने बताउँदै उनले भने–‘गल्ती नगरौं । विकास सहभागितामूलक हुन सकेन भने एसियाको दिगो विकास छिन्नभिन्न हुन पुग्नेछ ।’
प्रधानमन्त्री ओलीले भने–‘एसियामा बजार विस्तार भइरहेका छन्, उद्योग व्यापार फस्टाइरहेका छन्, रोजगारी सिर्जना भइरहेको छ । एसियामा महादेश गरिबीबाट बाहिर निस्किने चरणमा पुगेको छ । तरपनि यस क्षेत्रको जनसंख्याको ठूलो हिस्सा गरिबी र अभावको चंगुलभित्रै रहेको छ ।’
एसियालाई नयाँ दृष्टिकोण र आयामहरुका साथ सुनौलो भविष्यतर्फ अघि बढाउने समय अहिले आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि क्षेत्रीय सहयोग र सहकार्य जरुरी रहेको बताए । जननिर्वाचित संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको र त्यसलाई मित्रराष्ट्रहरुबाट स्वागत् गरिएकामा प्रधानमन्त्री ओलीले आभार पनि प्रकट गरे ।