प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कने

२०७२ चैत्र १३ गते, शनिबार

काठमाडौं, १३ चैत । साताव्यापी भ्रमणका क्रममा उत्तरी छिमेकी चीनमा रहेका प्रधानमन्त्री केपी ओली भोलि स्वदेश फर्कदैछन् । त्यसअघि उनी आज चीनको छेन्दु प्रान्तमा हुने विभिन्न कार्यक्रममा व्यस्त रहनेछन् । छेन्दुमा रहँदा उनले भूकम्पले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गर्नेछन् । त्यहाँ प्रधानमन्त्रीले छेन्दु प्रान्तका अधिकारीहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसअघि हिजो साङसी प्रान्तको भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले साङ्सी प्रान्त र सियान शहरका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरे ।
चिनियाँ कम्युनिष्ट पार्टी साङ्सी उपपरिषद्का अध्यक्ष झाओ रुनमिनले संयोजन गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको भन्दै लगानीका लागि आमन्त्रण गरेका हुन् ।
साङ्सी प्रान्तको राजधानी सियान प्राचीन रेशम मार्गको उद्गम स्थल भएको तथा त्यसलाई आधुनिकीकरण गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङले एक क्षेत्र एक मार्ग अभियान थालेकाले नेपाल पनि यो योजनाबाट लाभान्वित हुन चाहेको प्रधानमन्त्रीले उल्लेख गरेका थिए ।
नेपालमा उदार अर्थतन्त्र भएको, कानूनी तथा प्रशासनिक प्रक्रियालाई सरल बनाइएको, लाभांशमा आयकर नलाग्ने व्यवस्था गरिएको र दुवैतर्फका छिमेकमा ठूला बजार विद्यमान रहेकाले नेपालमा लगानी गरेर व्यवसायीले फाइदा उठाउन सक्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रियाहरु

[anycomment]