इजिप्ट एयरको विमान अपहरण, साइप्रसमा अवतरण
काठमाडौ, १६ चैत । इजिप्ट एयरको विमान अपहरण भएको छ । अपहरणकर्ताले सो विमानलाई साइप्रसमा अवतरण गराएको संचारमाध्यमहरुले जनाएका छन् । एलेक्जान्ड्रियाबाट कायरोतर्फ जाँदै गरेको अवस्थामा विमान अपहरण भएको हो । इजिप्ट एअरको एअरबस ३२० दक्षिणी साइप्रसको लार्नाका विमानस्थलमा केहीबेर अघि सो विमान अवतरण भएको छ । समाचार एजेन्सीहरुका अनुसार अपहरणकारीले विमानमा बम रहेको चेतावनी दिएका छन् । विमानमा सवार केही महिला र बालबालिकालाई अपहरणमुक्त गर्न सकिने संकेत प्राप्त भएको अधिकारीहरुको भनाई छ । यद्यपि अपहरणकारीको मागका बारेमा प्रष्ट भइसकेको छैन ।
इजिप्टका सरकारी स्रोतलाई उद्धृत गर्दै विभिन्न संचारमाध्यमले जनाएअनुसार कम्तीमा एक हतियारधारीले विमान अपहरण गरेको हो । अपहरणमा कसको संलग्नता छ भन्ने प्रष्ट भइसकेको छैन । ‘ए३२०’ एअरबसमा ८० जनाभन्दा बढी सवार छन् । – एजेन्सी