प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच

२०७२ चैत्र १८ गते, बिहीबार

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो – “आत्मविश्वास जगाउँदै ती समुदायको आर्थिक उत्थान सहकारीले मात्र गर्न सक्छ, यसैले सहकारीलाई व्यापक बनाउनुपर्छ ।”
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)द्वारा आयोजित ‘वित्तीय समावेशीकरणको लागि साकोसमा सञ्जाल व्यवस्थापन’ विषयको गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी प्रवद्र्धन सरकारको प्राथमिकता क्षेत्रमा परेका कारण यो क्षेत्र हेर्न सहायक, राज्य वा मन्त्री नदिई उपप्रधानमन्त्री नै दिएको बताउनुभयो ।
विपन्न समुदायलाई आर्थिकरुपले माथि उकास्न तथा देशको आर्थिक उन्नति गर्न सरकारले निजी, सरकारी तथा सहकारी तीन खम्बे अर्थनीति लिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
नेपालको संविधान ऐतिहासिक
नेपाली जनताको चाहना र हकअधिकारलाई सुनिश्चित गर्न संविधानसभाबाट जारी संविधान ‘ऐतिहासिक र युगान्तकारी’ भएको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो – “संविधानमा रहेका प्रावधान र व्यवस्था अधिकांश जनताले रुचाएका छन् । केही असन्तुष्टि पनि होलान् । अहिले यो असन्तुष्टिलाई सम्बोधन गर्न लागिएको छ । अब संविधानको कार्यान्वयनमा लाग्नुपर्छ ।”
संविधानको कार्यान्वयनले नै अहिले उठेका आन्दोलनको माग सम्बोधन हुने उहाँले भनाइ थियो ।
पराधीन छैनौं
हालै छिमेकी देश भारत र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो – “सार्वभौम र स्वतन्त्र मुलुक नेपाल दुई देशको तुलनामा भौगोलिक हिसाबले सानो होला तर हामी हाम्रो बारेका निर्णय आफैँ गर्न सक्षम छौँ ।”
“कुनै पनि बहानामा यसो गर र उसो गर भनेर आत्मसम्मानमा चोट पुग्ने गरी कसैले पनि बोल्नुहँुदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यको पात्रको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले आर्थिक रुपले नेपाल गरिब भएपनि पराधीन नरहेको बताउनुभयो ।
आफू जतिदिन प्रधानमन्त्री पदमा बसे पनि देश र जनताको हितमा खटेर लाग्ने उहाँको भनाइ थियो ।
दुई दिने गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा आबद्ध संस्थाका तीनसय कार्यकारी अधिकृतको सहभागिता रहेको छ । सहकारी संस्थामा आधुनिक प्रविधि कसरी अङ्गिकार गर्ने भन्ने विषयका नौवटा कार्यपत्र गोष्ठीमा प्रस्तुत गरिने छ ।
उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी संस्थालाई अझ व्यवस्थित र मर्यादित बनाउन नयाँ ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।
उहाँले नयाँ ऐन सहकारी क्षेत्रको हातखुट्टा बाँध्ने गरी नआउने र यसले सहकारीलाई नियमन मात्र गर्ने बताउनुभयो ।
प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच घोचपेच
प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रलाई प्राथमिकता दिएका कारण पाको उपप्रधानमन्त्री दिएको भनाइ कार्यक्रममा सार्वजनिक गर्नुभएपछि उपप्रधानमन्त्री केसीले असन्तुष्टि जनाउँदै भन्नुभयो –‘कुराले पेट भरिन्न’ । उहाँको दःुखेसो थियो – “उपप्रधानमन्त्री बनाइदिएर मात्र हुन्छ ? अधिकार कहीँ छैन ।”
“सहकारी तथा गरिबी निवारणको बोर्ड मात्र छ, गरिब जनता मन्त्रालयमा आउँछन् तर उनीहरुलाई केही दिन सकिन्न, दिने अधिकार त प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग मात्र रहेछ,” उपप्रधानमन्त्री केसीले भन्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी ऐन ल्याउन माग गर्नुभयो ।
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारी संस्थालाई उत्थान हुने गरी नयाँ ऐन ल्याइनुपर्ने बताउनुभयो । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्कर अधिकारीले स्थानीय प्रजातन्त्रका रुपमा काम गरिरहेका सहकारी संस्थालाई थप व्यवस्थित बनाउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रियाहरु

[anycomment]