निःशुल्क प्रवेशाज्ञा प्रणाली लागू गर्न माग

२०७२ चैत्र १९ गते, शुक्रबार

काठमाडौं, १९ चैत । सक्रिय सेवा समाज, पौरखी नेपाल, एसियन फोरम, ओरेक नेपाल, म्याग नेपाललगायत ( सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल)ले ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ लागू गर्न माग गरेको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालसग आबद्ध विभिन्न २१ वटा सङ्घसंस्थाले आज बिहान करिब दुई घन्टा भद्रकालीमा धर्ना दिएका छन् । सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले विगतमा सरकारले गरेको ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ अहिलेसम्म व्यवसायीले कार्यान्वयन नगरेकाले उनीहरुलाई कारबाहीको माग गरे । सञ्जालका प्रतिनिधि बालकृष्ण गैरेले वैदेशिक रोजगार भनेको नेपाली श्रमिकको बाध्यता भएको र त्यस्तो बाध्यतामाथि मेनपावर कम्पनीले श्रमिकलाई ठगी गर्न नहुने बताए । सञ्जालले निःशुल्क प्रवेशाज्ञा प्रणाली कार्यान्वयनका लागि राष्ट्रपति, प्रधानमन्त्री, श्रममन्त्री, संसद्को अन्तर्राष्ट्रिय श्रम समितिलगायतका संस्थामा ध्यानाकर्षण गराउने पौरखी नेपालका प्रतिनिधि विजया राई श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा विभिन्न सात देशमा निःशुल्क प्रवेशाज्ञा प्रणाली लागू भइसकेको भएपनि व्यवसायीले अवरोध गरेका कारण पूर्णरुपमा लागू हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]