ईयूले गल्ती सच्यायो
काठमाडौं, २४ चैत । ईयूले गल्ती सच्याउँदै पुन नेपालको संविधानलाई स्वागत गरेको छ । नेपालको संविधान अपूर्ण रहेको भारत–ईयू संयुक्त विज्ञप्तिपछि विवादमा तानिएको ईयूको तर्फबाट राजदूत रिन्छे टेरिन्क मंगलबार परराष्ट्र मन्त्रालय पुगेर आफूहरुको पुरानै अडान कायम रहेको जनाएकी हुन् । युरोपियन युनियन (ईयू) ले नेपालमा संविधान जारी भएलगत्तै स्वागत गरेको पुरानै अडानमा रहेको प्रष्टिकरण दिएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापासँगको भेटमा राजदुत टेरिन्कले भारत–ईयु संयुक्त विज्ञप्तिको भाषा हेरेर आफू आश्चर्यमा परेको बताइन् । उनले भनिन्, ‘छिमेकी मुलुकहरुको नाम विज्ञप्तिमा पर्छ तर कसरी त्यस्तो भाषा पर्यो म आफैं आश्चर्यचकित छु ।’ भारत–ईयु संयुक्त विज्ञप्तिमा भने नेपालको संविधान अपूर्ण रहेको भन्दै त्यसलाई समावेशी बनाउन दुई पक्ष मिलेर काम गर्ने उल्लेख भएपछि नेपालले यसअघि कडा प्रतिक्रिया जनाएको थियो ।