लोकतन्त्र ‘लगाम बिनाको घोडा’ बन्न सक्दैन : प्रधानमन्त्री
काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई मधेसमा आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज देशबासीको नाममा सम्बोधन गर्दै उनले वार्ता र संवादमार्फत सबै प्रकारका समस्याको हल हुने भएकाले कुनै पनि बहानाबाजी नगरी सार्थक संवादमा आउन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने , “लोकतन्त्र लगामबिनाको घोडा बन्न सक्दैन । लोकतन्त्रका विभिन्न आयाम हुने भएकाले अराजकता स्वीकार्य हुँदैन ।”
प्रधानमन्त्रीले चाडवाडका बेला जनताले मट्टितेल नपाएको, जीवन रक्षक औषधि नभएको र मुलुक अघोषित नाकाबन्दीको चपेटामा परेको असाध्यै अप्ठ्यारो अवस्थामा सरकार गठन भइ ६ महिना पूरा गरेको बताए । राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको आन्दोलनमा आधा शताब्दी बिताएको र १४ औँ वर्ष जेल बसेको व्यक्ति कसरी विभेदकारी हुन सक्छ, भन्दै प्रधानमन्त्रीले प्रश्न गरे । प्रधानमन्त्रीले जनताको मागअनुसार जारी भएको संविधानप्रति असन्तुष्टि रहे संशोधनका प्रक्रियाबाट सम्बोधन गर्न सकिने स्पष्ट पारे ।
राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य भएको भन्दै उनले तराई मधेसको बन्द हड्ताल र त्यसले देश र जनताको हित विपरीत पारेको प्रभावप्रति सचेत रहन आग्रह गरे ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको यही चैत २५ गते ६ महिना पूरा गरेको छ ।