बेपत्ता छानबिन आयोगद्वारा उजुरी लिन सुरु
काठमाडौ, २ बैशाख । बेपत्ता छानबिन आयोगले आजदेखि उजुरी लिने भएको छ । आजदेखि देशभरीबाट पीडितहरूले सार्वजनिकरूपमा उजुरी दिन पाउनेछन् । बेपत्ता आयोगले स्थानीय शान्ति समितिमार्फत उजुरी लिने वयवस्था मिलाएको छ । पीडितले आजदेखि आफुलाई परेको अन्याय बिरुद्ध निर्धक्क भएर उजुरी गर्न सक्ने आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले जानकारी दिए । उनका अनुसार अब पीडितले दिएको उजुरीका आधारमा नै दसवर्षे सशस्त्र संघर्षका समयमा कति मानिस बेपत्ता भए भन्ने तथ्यांक पनि आउने बताए । काठमाडौं उपत्यकाका तीनै जिल्लाले भने आयोगमा सिधै गएर पनि उजुरी दिन सक्ने व्यवस्था पनि मिलाइएको छ । पीडितको उजुरीपछि त्यसको अनुसन्धान गर्ने, दोषीमाथि कारबाहीको सिफारिस गर्ने, पीडितलाई क्षतिपूर्ति र परिपुरणका लागि सरकारसमक्ष सिफारिसको काम बेपत्ता आयोगले गर्ने छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि आउने हप्तादेखि उजुरी लिने गरि तयारी थालेको छ ।