मधेसी दलका जायय मागको सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणकार्य र असन्तुष्ट मधेसी दलका जायय मागलाई सरकारले सम्बोधन गर्ने बताएका छन । प्रधानमन्त्री ओलीले आज नेपालमा रहेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुलाई देशको वस्तुस्थितिबारे जानकारी गराउने क्रममा ( ‘बिफ्रिङ’ कार्यक्रममा ) सो कुरा बताएका हुन् । ‘बिफ्रिङ’ कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै असन्तुष्ट पक्षका मागलाई वार्ताबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अहिले नेपाल जटिल अवस्थाबाट गुज्रिरहेको भन्दै उनले छिमेकी तथा मित्र राष्ट्रहरुबाट सदासयता र सहयोगको अपेक्षा पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले पुनःनिर्माण कार्यमा केही ढिलाइ हुन गएको भएपनि सरकार अहिले यसैमा केन्द्रित रहेको र सबैभन्दा पहिले घरबारविहीनहरुलाई छानामुनि ल्याउने प्रयास भैरहेको जानकारी दिए । सो अवसरमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सरकार दुबै मित्र राष्ट्र भारत र चीनसँग मित्रवत् सम्बन्ध राख्न निरन्तर प्रयत्नशील रहेको भन्दै ती दुबै राष्ट्रको प्रगतिबाट नेपाल लाभान्वित हुन चाहेको बताए ।
बिफ्रिङ कार्यक्रममा भारत, चीन, अमेरिका, बेलायत, संयुक्त राष्ट्रसंघ, युरोपेली संघका साथै काठमाडौंमा रहेका सबै कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]