प्रम ओलीद्वारा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

२०७३ जेष्ठ २६ गते, बुधबार

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जारी भएसँगै लगानीको उपयुक्त वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गर्नुभएको छ ।
आफ्नो कार्यकक्ष सिंहदरबारमा आज भएको विदेशस्थित दातृ निकायका प्रतिनिधिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले संविधान जारीपश्चात मुलुकमा लगानीमैत्री वातावरण बनेकाले लगानीका लागि आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी) का सचिव मार्क लोकक तथा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चआयुक्तको कार्यालय (युएनएचसिआर) का प्रतिनिधिले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
दुबै भेटमा नेपालको आर्थिक विकास र दुई पक्षीय सम्बन्धबारे सौहार्दपूर्ण कुराकानी भएको छ । भेटमा खासगरी नेपालको आर्थिक विकासमा कसरी बेलायतको लगानी भित्र्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको थियो ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्धलाई थप सुदृढ र बलियो बनाउनेबारे पनि उहाँहरुबीच कुराकानी भएको थियो ।
बेलायतले नेपालको संविधान कार्यान्वयनबारे पनि चासो राखेको थियो ।
त्यस्तै युएनएचआरसीका प्रतिनिधिले पनि नेपालको आर्थिक विकास र भूटानी शरणार्थी समस्याबारे जिज्ञासा राखेको थिए ।
बेलायती सचिवसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालमा प्रसस्त लगानीको वातावरण रहेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार गोपाल खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
दुई देशबीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा बेलायतको भूमिकालगायतको विषयमा कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।
बेलायती सचिवहरुले संविधान जारीपश्चात नेपाल आर्थिक विकासको दिशातर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्दै खासगरी ठूला परियोजनामा वेलायती लगानी कसरी भित्र्याउने र लगानी सुरक्षित गर्नेबारे विस्तृत कुराकानी भएको थियो ।
प्रमका परराष्ट सल्लाहकार खनालका अनुसार बेलायतले संविधान कार्यान्वयनप्रति राखेको चासोको जवाफमा प्रधानमन्त्री ओलीले नेपाल यतिखेर संविधान कार्यान्वयनको चरणमा रहेको र सबैखाले समस्या समाधान भइसकेको र केही भए वार्ता र सहमतिबाटै समाधान खोजिने बताउनुभएको थियो ।
डिएफआइडीका सचिव मार्क लोककले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको आधुनिक विकास र दुईपक्षीय सहयोगबारे सौहार्दपूर्ण कुराकानी भएको बताउनुभयो ।
त्यसैगरी युएनएचसिआरका प्रतिनिधिसँगको भेटमा विशेषगरी भुटानी शरणार्थी समस्या समाधान, नेपालको आर्थिक विकासमा खेल्ने भूमिकालगायतका विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै युएनएचआरसीका प्रतिनिधि क्रेग सेन्डर्सले नेपालको समसामयिक परिस्थिति र भुटानी शरणार्थीबारे कुराकानी भएको बताउनुभयो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु