नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्दै

२०७३ जेष्ठ ३० गते, आईतवार

काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिक रुपमा पार्टी घोषणा गर्ने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष कार्यक्रम गरी पार्टी घोषणा गर्न लागिएको हो । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाईसमेत निम्ता गरिएको बताइएको छ । घोषणासभामा सहभागी हुन विभिन्न देशका पार्टी प्रतिनिधिहरुसमेत उपस्थित हुने बताइएको छ । घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट र्‍यालीसहित रंगशालामा पुग्ने कार्यक्रम तय गरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।
यसअघि शनिबार पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालले हालसम्म १ लाख १४ हजार ५ सय ४६ जनालाई सदस्यता वितरण गरिएको जानकारी दिएको छ । अहिलेसम्म सदस्यतालगायतका शुल्कबाट १ करोड ७६ लाख ६५ हजार ३ सय आम्दानी देखाएको नयाँ शक्तिले पार्टी घोषणासभामा १ करोड ५ लाख खर्च हुने प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । पार्टी घोषणाको एकदिन अघि नयाँ शक्ति नेपालसंँग संघीय जनमुक्ति पार्टीसमेत गाभिएको छ ।
यसैबीच, नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रम गर्नुअघि काठमाडौंको चार ठाउँबाट जुलुस निस्कंदैछ । बिहान ११ बजेपछि कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट निस्कने जुलुस दशरथ रंगशालामा पुगेर सभामा परिणत हुनेछ । यसरी जुलुस निस्कँदा सडक जाम नहुने नयाँ शक्तिले जनाएको छ । नयाँ शक्तिको तयारी अनुसार ट्राफिक प्रहरीले पनि जाम हुन नदिने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
ट्राफिक प्रहरीका सहप्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार ¥यालीलाई सडक पेटी र चाप धेरै भएमा एकतर्फी मार्गबाट व्यवस्थापन गर्ने तयारी छ । भट्टका अनुसार बाटो काट्ने ठाउँमा बटुवाको संख्या धेरै भएमा मात्र गाडी रोकिन्छन्, नत्र सवारीलाई नियमित रुपमा चलाईने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]