सहिद र बेपत्ता परिवारको मुहार हसिलो नबनाई बिश्राम लिन्न – प्रचण्ड
काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्दियाको सुर्यपटुवास्थित डल्लामा सहिद बेदप्रसाद योगीको शालिक अनावरण गर्दै सहिद र बेपत्ता परिवारको मुहार हँसिलो नभई आफूहरुले विश्राम नलिने बताएका छन । जबसम्म राष्ट्रको एकता बलियो हुने छैन, जवसम्म सहिद बेपत्ता परिवारको मुहार हसिलो हुने छैन तबसम्म हामी विश्राम लिने छैनौं ‘ प्रचण्डले भने । प्रचण्डले माओवादी फेरि एक पटक एकतावद्ध भएकोले अब नेपाल नयाँ बन्ने बताए । उनले भने , ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता कुराहरु यसकै विरोधीहरुलाई समेत मान्न बाध्य पार्यौं । यि एजेण्डा नेपाली काँग्रेस एमालेले मानिदिए, त्यसका लागि धन्यवाद । यि एजेण्डा हाम्रा हुन् । यसको कार्यान्वयन हाम्रै नेतृत्वमा मात्र सम्भव छ । आफूले लगाएको बाली मागेर खाने जस्तो स्थिति हामी माओवादीको बन्यो । अब हामीले लगाएको बाली आफैं खाने हो ।
माओवादी अरुभन्दा फरक मान्यता, फरक परम्परा भएको फरक धातुले बनेको पार्टी हो । मानिसले विश्वास गरेका थिएनन् कि माओवादीले सिंगै देशलाई उचाल्न सक्छ भनेर । हामी सिधै सत्ता कब्जा गर्न चाहान्थ्यौं । तर देशको परिस्थितिको कारण सम्झौतामा आउनु परेको हो । शान्ति प्रक्रियामा आएपछि अलि अप्ठ्यारो पनि भएको हो । थारु समुदाय आफ्नो अधिकारको निम्ति कहिल्यै नझुकेर निरन्तर अगाडि बढेको समुदाय हो ।
अहिले हामी जुन नयाँ परिवर्तनमा आएका छौं, वेदप्रसाद जस्तै हजारौं कमरेडहरुको बलिदानले बनेको हो । वेदप्रसाद भौतिक र विचार दुबै दृष्टिले धनी हुनुहुन्थ्यो । पञ्चायती व्यवस्था भएकै बेला ३० वर्ष पहिले उहाँसँग भेट भएको थियो । यो गाउँमा १० दिन भूमिगत रहेर संगठन गरेको थिएँ । यो गाउँ २१ जनाले बलिदान गरेको गाउँ हो र देशमै बर्दिया जिल्लामा राज्यद्वारा सबैभन्दा बढि बेपत्ता पारिएको जिल्ला हो ।’